घोराही, २३ साउन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सदस्य अजयदीप शर्माले आफ्नो आमाको सम्झनामा रक्तदान गरेका छन् ।
गतबर्ष साउन २४ गते निधन भएकी आमा लोककुमारी रिजालको सम्झनामा उनले रक्तदान गरेका हुन् ।
लोककुमारीकी नातिनी राधा रिजालले पनि आफ्नो हजुर आमाको सम्झनामा रक्तदान गरेकीछन् । घर परिवारले साउन १४ गते तिथिको अबसरमा वार्षिक श्राद्ध गरेका थिए । तर, अजयदीप र राधाले आफ्नी आमा÷हजुर आमाको सम्झनामा रक्तदान गरेका हुन् ।
दुबै जनाले आज बिहानै रक्त सञ्चार केन्द्रमा गएर रक्तदान गरेका थिए । ‘आमाको रगतबाट नै हामी बनेका छौं, हामी आमाको नाममा कुनै दुःखी विरामीलाई रगत उपलब्ध होस् भनेर रक्तदान गरेका हौं,’ उनले भने, ‘आमालाई सम्झने विभिन्न तरिका छन्, म अब सधै साउन २४ गते आमाको सम्झनामा रक्तदान गर्ने छु ।’ आमाको नाममा वार्षिक श्राद्ध रक्तदान गरेर नै मनाउने उनले जानकारी दिए ।
हजुर आमाकै माया र स्नेहमा हुर्केकाले सम्झनामा रक्तदान गरेको नतिनि राधा रिजालले बताइन् । ‘हजुरआमाको रगत मेरो शरिरमा पनि छ, मेरो रगत कुनै दुःखी विरामीले पाउन, त्यो पनि हजुर आमाको रगत हुने छ ।’
लोककुमारीको परिवारले गतवर्ष नै सिद्धरत्ननाथ उच्च माध्यामिक विद्यालय नारायणपुरमा ५७ हजार, पत्रकार महासंघमा ५१ हजार र प्रेस सेन्टरमा ५१ हजारको पुरस्कार अक्षकोष स्थापना गरेका थिए ।
तीन ओटै पुरस्कार आज प्रदान गरिदै छ । यसबर्ष पत्रकार महासंघले प्रदान गर्ने लोककुमारी स्मृति पत्रकारीता पुरस्कार पत्रकार सन्तोष अधिकारी र प्रेस सेन्टरले प्रधान गर्ने लोककुमारी प्रतिभा पुरस्कार पत्रकार तुलसीराम वलीले पाउँदै छन् ।