दाङ, २३ साउन । लोककुमारी स्मृति पुरस्कारबाट पत्रकार सन्तोष अधिकारी र तुल्सीराम वली पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ र प्रेस सेन्टर नेपाल दाङ शाखामा छुट्टाछुट्टै स्थापित लोकुमारी स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय अधिकारी र वलीलाई पुरस्कृत गर्न लागिएको हो ।
महासंघ दाङ शाखाले प्रदेश सभासद् तथा बुटवल टुडेका दाङ समाचारदाता सन्तोष अधिकारीलाई र प्रेस सेन्टर दाङ शाखाले रेडियो हाम्रो पहुँचमा कार्यरत पत्रकार तुल्सीराम वलीलाई पुरस्कृत गर्ने निर्णय गरेको सम्बन्धित संस्थाहरुले जनाएका छन् । दुबै पुरस्कारको राशी रु. ५÷५ हजार र सम्मान पत्र रहेको छ ।
दुवै पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा, महासंघका शुभेच्छुकहरु हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल र राधा रिजालले आफ्नी आमा-हजुरआमाको स्मृतिमा महासंघ र प्रेस सेन्टर दाङ शाखामा अलग–अलग अक्षयकोष खडा गरी ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार’को रुपमा स्थापना गर्नुभएको थियो । हालको घोराही उपमहानगरपालिका वडा नं. १० (साविक नारायणपुर–१) निबासी लोककुमारी रिजालको गत वर्ष साउन २४ गतेका दिन निधन भएको थियो ।
यसैबीच भोलि (साउन २४) गते नेपाल पत्रकार महासंघ र प्रेस सेन्टर दाङ शाखाले संयुक्त रुपमा लोककुमारी रिजालको प्रथम स्मृति दिवस मनाउने भएको छ । सोही कार्यक्रममा दुबै पुरस्कारहरु प्रदान गरिने नेपाल पत्रकार महासंघ दाङका सचिव भुपेन्द्रप्रकाश वलीले जानकारी दिनुभयो । बिहान ११ बजेदेखि घोराहीस्थित महासंघको सभाकक्षमा हुने स्मृति दिवसमा सहभागी भइदिन सचिव वलीलाई सबैलाई आग्रह समेत गर्नुभएको छ ।