काठमाडौं, २ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुटबन्दीका कारण पार्टीले हार बेहोर्नु परेको बनाउदै यसको समाधान पार्टीभित्रै खोज्नुपर्ने बताएका छन् ।

maoist_metting-750सोमबारदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सचिवालय र जिल्ला इन्चार्जहरुको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेजतिको नतिजा ल्याउन नसकनुको कारण पार्टीभित्रै रहेको बताए ।

‘हामी आफ्नै आन्तरिक समस्या व्यवस्थापन गर्न नसकेर हारेका हौँ’, उनले भने, ‘त्यसैले हारको कारण जनतामा होइन, पार्टी भित्रै खोज्नुपर्छ।’
पार्टीलाई सिध्याउने मुख्य कारण गुटबन्दी भएको भन्दै उनले गुटबन्दीलाई विघटन गर्नुपर्ने बताए। उनले भने, ‘माओवादीलाई सिध्याउने मुख्य कारण भनेको गुट नै हो। गुटलाई आजैबाट विघटन गरौँ या घोषित रुपमा चलाउँ।’ उनले पार्टीभित्र भएको अघोषित गुटबन्दीले सबैलाई सिध्याउने भन्दै त्यसतर्फ सचेत हुन नेताहरुलाइृ आग्रह समेत गरे।

माओवादी नेताहरुले काम गर्ने तर त्यसको जस लिन नजानेका कारण पनि हार भएको उनको विश्लेषण थियो। ‘यो देशमा परिवर्तनका काम हामी गर्यौ तर त्यसलाई संस्थागत गर्न भने सकेनौँ अध्यक्ष प्रचण्डले भने, ‘त्यसको प्रत्यक्ष असर निर्वाचनमा देखियो।’

उनले माओवादी पार्टी जनताको पार्टी बन्न नसकेको र जनताले आफूले खोजेजस्तो पार्टीका रुपमा माओवादीलाई देख्न छाडेको बताए। उनले भने, ‘हाम्रो पार्टी जनताले खोजेजस्तो पार्टी बन्न सकेन, यसलाई कस्तो पार्टी बनाउने हो सबैले बेलैमा सोचौँ।’

पार्टीभित्र बिभिन्न नेताहरुले गुटबन्दी गरेकोतर्फ संकेत गर्दै प्रचण्डले गुटहरुको अन्त्य नगरेसम्म पार्टी निर्माण हुन नसक्ने बताए । “आजैदेखि गुट विघटन गरौं, होइन भने घोषित रुपमा नै गुट चलाऔं । यो तरिकाले अघि बढ्न सकिन्न ।” उनले भने ।