काठमाडौं, २ साउन । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ । निगमको यो निर्णयसँगै झण्डै दुई महीना अन्तरराष्ट्रिय उडान प्रभावित हुने भएको छ ।
निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी ५७५ विमान मर्मत गर्न सिङ्गापुर लगिने भएपछि मर्मत अवधिभर ४५ देखि ६० दिन भुटान एयरलाइन्सको विमान भाडामा लिने निर्णय गरेको थियो । तर, भुटान एयरलाइन्सको उक्त विमान पुरानो भएको र नेपाली हवाई नीतिअनुसार प्रयोग गर्न नमिल्ने भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान नलिने निर्णय गरेको छ ।
मन्त्रालयको निर्णयअनुसार निगमले पनि भुटान एयरलाइन्सको जहाज नलिने निर्णय गरेको हो । निगमको बोइङ मर्मतका लागि गत शुक्रवार सिङ्गापुर पठाइएको निगमले बताएको छ । बोइङ मर्मतमा गएपछि अन्तरराष्ट्रिय उडान सङ्ख्या केही कटौती हुने निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिए । उनले मर्मतअवधिभर निगमले कुनै पनि विमान भाडामा नलिने बताए । निगमले एक बोइङ र दुई एयरबसबाट सातामा ३७ उडान भर्दै आएकामा बोइङ मर्मतमा गएपछि सातामा १७ उडान कटौती गरेको छ ।
बोइङ नभएपछि भारतको नयादिल्ली, बैङ्गलोर, मलेशियाको क्वालालम्पुरका केही उडान कटौती भएको निगमले बताएको छ । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठका अनुसार बोइङ मर्मतमा गएपछि निगमलाई करोडौं घाटा लाग्ने बताए । ‘बेचिसकेको करीब छ हजार टिकट अन्य कम्पनीको विमानबाट पठाउनुप¥यो, कतिपय यात्रुलाई होटलमा राख्नुपर्ने केहीको पैसा फिर्ता गर्नुपर्ने हुन्छ, यसले त धेरै घाटा हुन्छ”–उनले भने ।
निगमको बोइङ बि ७५७ विमानले काठमाडौंबाट १ सय ८४ यात्रु लिएर क्वालालम्पुर गएको थियो भने त्यहाँबाट खाली सिङ्गापुर लगिएको थियो । यो बोइङ मर्मत गर्न ४५ देखि ६० दिन लाग्नसक्ने निगमको भनाइ छ । हवाई नीति २०६३ को कार्यनीतिअन्तर्गत बुँदा ५।२ मा ‘उडान सुरक्षा’ शीर्षकमा उल्लेख भएअनुसार ‘प्रेसराइज्ड वायुयानको हकमा १५ वर्षभन्दा पुरानो वा इकोनोमिक डिजाइन लाइफको ७५ प्रतिशत पूरा गरेको वा ४५ हजार प्रेसराइजेसन साइकल पूरा गरेको जुन पहिला हुन आउँछ त्यस्ता वायुयान आयात गर्न निषेध गरिनेछ ।
त्यस्तै बुँदा ५।२।२।मा प्रेसराइज्ड नभएका वायुयानको हकमा आयात गरिने वायुयानको केश टु केश वेसिसमा वायुयानको पूर्ण विवरण जाँच गरी निर्णय गरिनेछ । तर, २० वर्षभन्दा पुराना वायुयानलाई आयात गर्न सामान्यतया अनुमति प्रदान गरिने छैन ।
निगमले ‘ग्लोबल टेण्डर’ बाट छनोटमा परेको भुटान एयरलाइन्सको १६ वर्ष आठ महीना पुरानो विमान भाडामा ल्याउन लागेको भन्दै आलोचना भएको थियो । निगमका प्रवक्ता श्रेष्ठले मन्त्रालयको निर्णयबमोजिम भुटान एयरलाइन्सको विमान नलिने निर्णय भएको बताए । ‘हवाई नीतिको व्याख्या नमिलेर निर्णय स्थगित भएको हो । भुटानको विमान दुई महीनाका लागि ल्याइने हो सधैंका लागि त होइन”– उनले भने ।
निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका पर्यटन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले हवाई नीतिअनुसार प्रश्न उठाएकाले मन्त्रालयले नीति परिमार्जन नभएसम्म रोक्ने निर्णय गरेको बताएका छन् । ‘भुटान एयरलाइन्सको विमान बढीमा ६० दिनको भाडा हो यसमा निगमका महाप्रबन्धकले नै निर्णय गर्नसक्नुहुन्छ, तर क्यानले हवाई नीतिअनुरुप प्रश्न उठाएकाले पछि विवादमा नआओस् भनेर रोकिएको हो”– उनले भने । निगमले हाल आठ गन्तव्यमा अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । रासस