दाङ २८ , असार । स्वास्थ्यकर्मीहरुको लागि मनोसामाजिक समस्या सम्बन्धी पुर्नताजगी तालिम घोराहीमा सुरु भएको छ । यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) नेपालको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय दाङको सहयोगमा भएको तालिममा मनोसामाजिक समस्या सम्बन्धी आधारभुत तालिम लिई सकेका स्वास्थ्यकर्मीहरु सहभागि छन् । जिल्लाका २० वटा स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधीहरु तालिममा सहभागि भएको सिभिक्ट नेपाल दाङका कार्यक्रम संयोजक मुस्कान खनालले जानकारी दिनुभएको छ ।
दुई दिने तालिमको बुधबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको छ । घोराही उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख नरुलाल चौधरीले तालिमको उद्घाटन गर्नुभएको हो । तालिम उद्घाटन अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी चौधरीले ब्यक्ति मानसिक रुपमा स्वस्थ नभई सामाजिक विकासको कल्पना गर्न नसकिने बताउनभुयो । स्वास्थ्य विना समृद्धि नहुने भएकाले विकासको पहिला आधार स्वास्थ्यको विकास रहेको उहाको भनाई रहेको थियो ।
जुन देशका नागरिकहरु स्वस्थ हुन्छन् त्यो देशले छिट्टै प्रगती गर्ने गरेको भन्दै मेयर चौधरीले घोराही उपमहानगरपालिकाको विकासका लागि यसक्षेत्रको स्वास्थ्यलाई बलियो बनाउने गरी काम सुरु भएको उहाको भनाई थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलको अध्यक्षता तथा मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता र उपमेयर सिता न्यौपानेको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उपमेयर न्यौपानेले घोराही उपमहानगरपालिकाको प्रत्येक वडामा मिनि हस्पिटल निर्माण गर्ने योजनाहरु आफुले अगाडी सारेको र त्यो काम पुरा गरेर छोड्ने उहाको भनाई रहेको थियो ।
सिभिक्टको बारेमा जानकारी दिदै फणिन्द्र न्यौपानेले यातना, महिला विरुद्ध हुने हिंसा, दण्ड प्रणाली सुधार, मानसिक स्वास्थ्य लगाएतका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएको बताउनुभयो । सस्थाले गर्दै आएको कामको बारेमा बृत्तचित्र समेत प्रस्तुत गर्दै उहाले यातनापीडित तथा हिंसा प्रभावित शारिरीक तथा मनोसामाजिक मनोविमर्श विधिबाट उपचार गर्नुको साथै यसक्षेत्रमा क्षमता अधिबृद्धि सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको समेत उहाले बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख पोख्रेलले जिल्लामा रहेको मनोसामाजिक समस्या समाधानका लागि सिभिक्टले राम्रो काम गर्दै आएको भन्दै सबैको सहयोग साथले स्वच्छ समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । साथै कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक मनोविद विनोद पौडेलले मानसिक तनाबको व्यवस्थापन गर्न सके मात्रै मानिस पुर्ण रुपमा स्वस्थ बन्ने बताउनुभयो । अहिले पनि मनोसामाजिक समस्या भएका विरामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको भन्दै विरामीहरुलाई हेय भन्दा पनि माया, सुरक्षा, उपचार र परामर्श आबस्यक रहेको बताउनुभयो ।
सिभिक्ट नेपालले दाङमा सन् २०१२ देखि काम गर्दै आएको छ । अहिले सम्म धेरै मनोसामाजिक समस्या भएका विरामीहरुलाई उपचार तथा परामर्श गरीएको कार्यक्रम संयोजक मुस्कान खनालले जानकारी दिनुभयो ।
