बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले जिल्लाका ७२ जना विद्यार्थीलाई एक सय दिनको स्वयंसेवक तालिम बुधबारदेखि सुरु भएको छ। समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम शुरु गरेको समरजित गुल्मका सेनानी दिवाकर रायमाझीले बताए।

inddनेतृत्व विकास, राष्ट्रियता, ट्राफिक सचेतना, चेलिबेटी बेचबिखन नियन्त्रण, महिला ताथ बालअधिकार र संरक्षणका बारेमा तालिम दिने सेनाले जनाएको छ।

विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीलाई ७९ दिन संस्थागत तालिम र २१ वार्षिक सामूहिक क्याम्प गरी एक सय दिन तालिम दिने बताइएको छ।

शारीरिक तालिम, ड्रिल, सैनिक कला, हाइकिङ, एरोविक्स, हतियार तालिम तथा फायरिङ साहसिक तालिम दिइने भएको छ। त्यस्तै व्यक्तित्व विकास र सांस्कृतिक आदानप्रदान समेत ७९ दिनसम्म दिने भएको छ।

राष्ट्रिय सेवा दलले युवा जनशक्तिको महत्व र आवश्यकतालाई मनन गर्न र युवा वर्गलाई सङ्गठित गर्न साथै राष्ट्र विकासको अभियानमा युवा वर्गको सहभागिता गराउने उद्देश्यले तालीम सञ्चालन गरिएको सेनानी रायमाझीले जानकारी दिए। रासस