इन्द्रेणी संवाददाता
प्युठान, २६ जेठ
प्युठानमा चारवर्ष अघि आयोजना गरिएको ‘श्रीमद्भागवत सप्ताह स्वर्गद्धारी ज्ञान महायज्ञ’मा धेरै दानवीरहरुले कवुल गरे अनुसारको रकम बुझाएका छैनन् ।
धर्मशाला निर्माणकै लागि संचालन गरिएको महायज्ञवाट लक्ष्य अनुसार रकम संकलन नजुटेपछि धर्मशाला निर्माण कार्यमा समस्या भएको छ ।
दानवीरहरुले करिव ४२ लाख रुपैयाँ रकम अझैसम्म नबुझाएको धर्मशाला निर्माण सचिवालयका कार्यालय सचिव अनिल जिसीले जानकारी दिनुभयो । पटक÷पटक ताकेता गर्दा समेत रकम उठ्न नसकेपछि लक्ष्य अनुसार निर्माण गर्न नसकेको उहाँले वताउनुभयो ।
तीन तलाको निर्माण गर्ने योजना रहेकोमा रकम अभावले एक तलामै सिमित रहेको छ । अहिलेसम्म करिव १ करोड ९ लाख रुपैयाँ लगानी भईसकेको छ । स्वर्गद्धारीमा दर्शन गर्न जाने तिर्थयात्रीहरुलाई लक्षित गर्दै धर्मशाला निर्माण गरिएको थियो । दानवीरहरुबाट उठ्न बाँकी रकम संकलन भएमा धर्मशालाको अँधुरो काम पुरा गर्ने योजना रहेको छ ।।











