नवलपरासी, १३ असार । दोस्रो चरणमा निर्वाचन हुन लागेको नवलपरासीका सातवटा स्थानीय तह लक्षित गरी उच्च सतर्कता अपनाइएको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले स्थानीय प्रशासनले निर्वाचन हुन लागेको क्षेत्रमा उच्च सतर्कता अपनाएको हो ।

nepal armyसुरक्षा निकायले नवलपरासीमा दोस्रो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं ५ मा पर्ने सात स्थानीय तहमा कुल ७० वटा मतदानस्थल अतिसंवेदनशील क्षेत्र तोकेर सुरक्षा रणनीति अघि सारेको छ ।

यसैबीच, नवलपरासीको सुनवलमा मानवीय क्षति हुने गरी गराइएको बम विष्फोट घटनाको अनुसन्धान गर्न प्रहरीले चारजनालाई पक्राउ गरेको छ । विष्फोट विप्लव नेतृत्वको नेकपाले गराएको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासी विनयीत्रिवेणी गाउँपालिका–३ का पुरुषोत्तम रेग्मी, सरावल गाउँपालिका १ का कान्तिशङ्कर पराजुली, सुनवल नगरपालिका–१२ की दुर्गादेवी पाण्डे र मध्यबिन्दु नगरपालिका–९ का धनबहादुर कुमाल छन् । उनीहरुले निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।