इन्द्रेणी संवाददाता
दाङ, ८ असार । शिक्षक र विद्यार्थीहरुका लागि आयोजना गरिएको एक दिने सेनेटरी प्याड बनाउने तालिम बुधबार मावि डाँडागाउँ गोग्लीमा सम्पन्न भएको छ । युवा समूह लक्ष्मीपुरको आयोजना तथा इन्सेक दाङको समन्वयमा तालिम सम्पन्न गरिएको युवा समूहकी सचिव दीपा आचार्यले जानकारी दिएकी छन् ।
बालअधिकार चेतना समूह गोग्लीका संरक्षक शिक्षक विष्णु भण्डारीको अध्यक्षमा भएको तालिममा साविक सौडियार र लक्ष्मीपुर गाविसमा रहेका चारओटा विद्यालयका तीस जना शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
तालिममा सबै भन्दा उत्कृष्ट प्याड बनाउँने मावि झिङ्नी बन्जाडीका छात्रा निशा चौधरी र जयशेर मावि रावतगाउँका छात्रा सुष्मा केसीलाई पुरस्कृत गरिएको थियो । तालिममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका राजकुमार पोख्रेलले प्रशिक्षण दिएको इन्सेक दाङका जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले बताए ।
