काठमाडौ २९ जेठ । सरकारले शिक्षा मन्त्रालय र मातहतका जिल्ला शिक्षा कार्यालयबाट मर्जर सुरु गरेको छ । अब जिल्लामा रहेका जिल्ला शिक्षा कार्यालयको साटो स्थानीय तहमै शिक्षा शाखा स्थापना गरी कर्मचारी खटाइने भएको छ । मुख्यसचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा शिक्षा मन्त्रालयका सचिव तथा सरोकारवाला निकायका प्रमुखको सहभागितामा शुक्रबार बसेको बैठकले शिक्षा मन्त्रालयले महानगरपालिका, नगरपालिका र गाउँपालिकामा तत्काल कर्मचारी खटाएर स्थानीय तहबाटै शिक्षासम्बन्धी काम गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रेमलाल लामिछानेका अनुसार अब सबै जिल्लामा शिक्षासम्बन्धी सबै काम जिल्ला शिक्षा कार्यालयमार्फत नभएर स्थानीय तहमा रहने शिक्षा शाखाबाट हुने छ । उनका अनुसार देशका स्थानीय तहको निर्वाचन सम्पन्न भएका २ सय ८३ स्थानीय तहमा एक साताभित्र शिक्षा शाखा गठन गर्ने र ती शाखामा आवश्यकताअनुसार शिक्षा मन्त्रालयमातहत रहेका उपसचिव र शाखा अधिकृतलाई खटाइने छ । निर्वाचन हुन बाँकी रहेका ४ सय ६१ स्थानीय तहमा भने आगामी १५ असारभित्र शिक्षाका कर्मचारी खटाईने छ । महानगरपालिका तथा नगरपालिकामा शिक्षा सेवाका उपसचिव र गाउँपालिकामा अधिकृतहरु शिक्षा शाखा प्रमुखकाे रुपमा रहनेछन् ।