काठमाडौं, २४ जेठ । माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताउनुभएको छ ।

deuwaआरोपरप्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिनुभएको हो । ुजाने प्रधानमन्त्री नै आउने प्रधानमन्त्रीको प्रस्तावक बस्नु यो विश्वकै नयाँ घटना होलाु, दाहालले संसद्मा यस्तो धारणा राख्दा संसद् भवन तालीले गुञ्जायमान बनेको थियो । माओवादीसँग यति नजिक बन्नुभएका देउवा कुनै समय भने उनीहरूको ुकट्टर दुस्मनु हुनुहुन्थ्यो । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो ।

सायद यही तिक्ततापूर्ण विगततर्फ इंगित गर्दै प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीले वर्तमान गठबन्धनप्रति संसद्मा मंगलबार प्रश्नसमेत उठाउनुभएको थियो । यद्यपि, संसद्मा मन्तव्यका क्रममा देउवाले दाहाल र दाहालले देउवाको प्रशंसामा अधिकांश समय खर्चनुभएकाले दुई नेताबीचको सहकार्य लामो समय जाने आकलन गर्नेहरूको पनि कमी थिएन ।

माओवादी केन्द्रको प्रमुख सहकार्यमा मधेसकेन्द्रित दल र साना दलको सहमतिमा देउवा चौथो पटक प्रधानमन्त्री बन्न सफल हुनुभयो । अन्नपूर्णमा खबर छ । मंगलबार संसद्मा भएको मतदानमा कुल खसेको ५ सय ५८ मतमध्ये देउवाको पक्षमा ३ सय ८८ मत परेको थियो । विपक्षमा १ सय ७० मात्र मत पर्‍यो । हाल कायम ५ सय ९३ सदस्यमध्ये देउवालाई प्रधानमन्त्री बन्न सामान्य बहुमत चाहिन्थ्यो । तर, यसअघि कांग्रेस(माओवादी गठबन्धनसँग नजिक रहेका सबै दलले देउवालाई प्रधानमन्त्रीमा मतदान गरे ।कांग्रेस, माओवादी केन्द्र र मधेसकेन्द्रित दलबीच संसद् भवनमै तीनबुँदे सहमति भयो र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरूले देउवाका पक्षमा मतदान गरे ।

यस्तै, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, समाजवादी जनता पार्टी, अखण्ड नेपाल पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले पनि देउवालाई साथ दिनुभयो । देउवाले पाएको मतलाई संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ मतसँग पनि जोडिएर हेरिएको छ । संविधान संशोधन गर्ने वचन दिएकाले दुई तिहाइ जुटाउन अब देउवालाई केही मतको खाँचो देखिन्छ ।

देउवाका ५ चुनौती

१.लगातार तीन तहको चुनाव सम्पन्न गर्नु ।
२.बलियो प्रतिपक्षको सामना गर्नु ।
३.संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु ।
४.संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु ।
५.संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु ।