काठमाडौँ, १९ जेठ । प्रधानमीन्त्री व्यवस्थापिका संसदबाट वहुमतिय प्रक्रियाबाट चुनीने भएका छन् । आज शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यतालिका र प्रधानमन्त्री चयनको प्रक्रियाबारे निर्णय लिने तयारी सभामुखले गरेकी छिन् । मुलुकको ४० औँ प्रधानमन्त्री चयनका लागि आइतबार व्यवस्थापिका संसद्मा निर्वाचनको तयारी भएको छ । तर औपचारिक रूपमा कार्यतालिका भने सार्वजनिक गरेको छैन ।
आजको कार्यव्यवस्था समितिको निर्णयपछि मात्र थप प्रक्रिया अगाडि बढ्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।
‘कम्तीमा तीन दिनको समय दिएर निर्वाचन सम्पन्न गर्ने गरी सचिवालयले कार्यतालिका तयार पारेको छ । तर, यसअघि सदनलाई जानकारी दिएर कार्यतालिका प्रकाशन गर्ने परम्परा थियो । अवरोधका कारण यो पटक सम्भव भएको छैन । अब कार्यव्यवस्थाले गर्ने निर्णयअनुसार नै कार्यतालिकाको काम अगाडि बढ्छ’, गौतमले भने ।
सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमा बुधबार मध्यरातदेखि सकिएको थियो । समय सकिएसँगै राष्ट्रपति भण्डारीले बिहीबार मात्रै बहुमतीय प्रक्रिया अगाडि बढाउन संसद्लाई पत्राचार गरेकी थिइन् ।