काठमाडौं ,१५ जेठ । सरकारले प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाललाई प्रदान गर्ने निर्णय गरेको सुुप्रबल जनसेवाश्री पदक प्रकाश दाहालले नलिने घोषणा गरेका छन् ।
गणतन्त्र दिवसको अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो । तर दाहालले पदक नलिने घोषणा गर्दै आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका छन् –
समतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा मेरो प्रत्यक्ष भूमिका छ। म आज पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित छु र भोलि पनि हुनेछु। गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु। पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो। त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु। यो देशका लागि अझै मैले धेरै काम गर्न जरुरी छ । सुझाव, सल्लाह र प्रतिक्रिया व्यक्त गर्नुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु।