काठमाडौं, १४ जेठ । बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका छन् ।
आइतबार नेपाली सेनाद्वारा बारा जिल्लाको निजगढमा आयोजित औपचारिक कार्यक्रममार्फत् प्रधानमन्त्रीले फास्ट ट्रयाकको शिलान्यास गरेका हुन् । शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने भने, ‘फास्ट ट्रयाक नेपाल आफैले निर्माण गर्न सक्छ कि सक्दैन भन्ने चुनौति हामीकहाँ थियो, यसलाई नेपाल आफैले निर्माण गर्न एउटा नयाँ संकल्पको खाँचो थियो । सरकारले त्यही संकल्प गरेर यो शिलान्यास हुँदैछ, आज सिंगो देश गौरवान्वित भएको छ । सम्पूर्ण नेपालीहरुमा आत्म विश्वास र भावनात्मक एकता अभिवृद्धि भएको छ ।’
द्रुत मार्गले काठमाडौं र तराई मधेशलाई दुरीका हिसाबले मात्रै नजोड्ने प्रधानमन्त्रीले बताए। उनले भने, ‘फास्ट ट्रयाक निर्माणले तराई–मधेश र काठमाडौं बीचको दुरी र समय त घटाउने नै छ । तर, त्यसभन्दा ठूलो र मूख्य कुरा तराई–मधेश र काठमाडौं बीचको भावनात्मक दुरी घटाउने छ । देशलाई एकतावद्ध गर्ने, राष्ट्रिय एकतालाई बलियो बनाउने र सिंगो देशलाई समृद्धिको दिशामा लैजाने हाम्रो सपनालाई समेत सार्थक बनाउने छ ।’
प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारले ईच्छाशक्ति र इमान्दारिता भयो भने छोटै समयमा पनि धेरै गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताए ।
प्रचण्डले भने, ‘ईच्छाशक्ति भयो भने छोटै समयमा धेरै गर्न सकिने रहेछ, दश महिना अघिसम्म यो देशमा लोडसेडिङ अन्त्य होला भन्ने कसैले कल्पना गर्दैनथ्यो, यति ठूलो आर्थिक वृद्धिदर होला भन्ने सोच्दैनथ्यो । तर, हामीले रातदिन मेहेनत गरेर सम्भव बनाएका छौं । लोडसेडिङ हटेको छ, उज्यालो युगको आरम्भ भएको छ, २४ वर्षयताकै ७।५५ आर्थिक वृद्धिदर हासिल गरिएको छ, विकास आयोजनाहरु तिब्रतामा सम्पन्न हुँदैछन्, स्थानीय तहको निर्वाचनले देशमा राजनीतिक स्थीरता र विकासको मार्गलाई गति दिएको छ । यी उपलब्धिहरुलाई घटाउनु आगामी सरकारहरुका लागि लाजमर्दो हुनेछ, हाम्रा उपलब्धि नेपाली इतिहासमा मानक बनेका छन् ।’
प्रधानमन्त्रीले नेपाली सेनाले तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । उनले भने, ‘नेपाली सेना नेपालको भौगोलिक अखण्डता, स्वाभिमान, सार्वभौमसत्ताको रक्षाका लागि पहरेदार रहँदै आएको छ । राष्ट्रियताको रक्षा र विकासका लागि नेपाली सेनाले खेलेको भूमिकाको उचित कदर गरेर नै सरकारले फास्ट ट्रयाक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरेको हो । मलाई पूर्ण विश्वास छ, यो अवसरलाई नेपाली सेनाले राम्रोसँग उपयोग गर्नेछ ।’
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ४ वर्षभित्र फास्ट निर्माण हुने बताउँदै यसले काठमाडौं र मधेशको विकास र मनोविज्ञानलाई जोड्ने बताउनु भयो । कार्यक्रमका अर्का वक्ता रक्षामन्त्री बालकृष्ण खाँणले फास्ट ट्रयाक निर्माणका लागि प्रधानमन्त्रीले देखाउनुभएको साहस र दृढता उच्च रहेको भन्दै नेपाली सेनाले सरकारको विश्वासलाई पुरा गर्ने बताए । त्यस्तै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपाली सेनाले तोकिएकै समयमा फास्ट ट्रयाक निर्माण गरेर सेना र जनता बीचको सम्बन्ध र विकासप्रतिको दायित्व थप बलियो बनाउने बताए ।
बैशाख २१ गतेको मन्त्रीपरिषद बैठकले बाराको निजगढबाट ललितपुरको खोकनासम्मको ७६।२ किलोमिटरको काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । फास्ट ट्रयाकको निर्माणका लागि १० वटा निर्माण समूह बनाइएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्श दाताको छनोट गरी उच्च प्रविधिको प्रयोग गरिने, फास्ट ट्रयाक चार लेनको हुने, सडक मार्गमा ९ वटा पुल, ६ वटा आकाशे पुल र डेढ किमी सुरुङ मार्ग निर्माण गरिने, राजश्व संकलन केन्द्र, ट्राफिक व्यवस्थापन लगायतका विषयलाई निर्माण योजनामा समावेश गरिएको आयोजना प्रमूख तथा नेपाली सेनाका उपरथि योगेन्द्र बहादुर खाँणले जानकारी दिए ।