डिल्ली मल्ल
सल्यान, ५ जेठ । सल्यानको कुमाखमालिका गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । एमालेका भैरवबहादुर शाहलाई १ हजार ५ सय ४५ मतको फराकिलो अन्तरले पराजित गर्दै माओवादी केन्द्रका दिलमाया बुढामगर अध्यक्षमा विजयी भएका हुन् ।
उनले ३ हजार ६ सय ७३ मत प्राप्त गर्नुभएको छ भने शाहले २ हजार १ सय २८ मत प्राप्त गरेका छन् । कांग्रेसका अध्यक्षका उम्मेदवार विवेकसिंह राठौरले १ हजार ९ ३९ मत प्राप्त गरे ।
त्यसैगरी राजमोका तिलकबहादुर रावतले ७० र राप्रपाका भरत बुढाथोकीले ५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत निर्मला मल्लले जानकारी दिए ।
उपाध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशीले ३ हजार ८ सय १८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ति चन्दले २ हजार ७५ मत प्राप्त गर्नुभएको छ भने कांग्रेसका उर्मिला राना बुढाथोकीले १ हजार ८ सय ८३ मत प्राप्त गरे ।
त्यस्तैगरी राजमोका उम्मेदवार प्रमिला खत्रीले ६२ मत र राप्रपाका सरिता बुढाथोकीले ५६ मत प्राप्त गरेका छन् ।
५ वडामा माओवादी, १ एमाले, १ कांग्रेस
७ वटा वडाहरु रहेको गाउँपालिकामा एउटा वडा कांग्रेस, एउटा वडा एमाले र ५ वटा वडामा माओवादी केन्द्रले विजय हाँसिल गरेका छन् ।
जसअनुसार वडा नं. १ मा कांग्रेसका गोपाल बुढाथोकीले वडा अध्यक्षमा जीत हात पारेका छन् भने सदस्यहरुमा माओवादी केन्द्रका जनक थापा, डिल्ली राना, उषा बुढाथोकी र मीना विक विजयी भएका छन् ।
वडा नं. २ मा एमालेका वडा अध्यक्षका उम्मेदवार शेरबहादुर रावत विजयी भएका छन् । दलित महिला सदस्य बाहेक अन्य सदस्य पनि एमालेकै विजयी भएका छन् ।
वडा नं. ३ मा माओवादी केन्द्रका चित्रबहादुर बुढाथोकीको प्यानल, वडा नं. ४ मा माओवादी केन्द्रकै तिलबीर बुढाथोकीको प्यानल, वडा नं. ५ मा माओवादी केन्द्रकै हरिप्रकाश बुढाथोकीको प्यानल भारी मतले विजयी भएको छ ।
त्यसैगरी वडा नं. ६ मा माओवादी केन्द्रका वीरवल शर्माको प्यानल र वडा नं. ७ मा पनि माओवादी केन्द्रकै तुलाराम बोहरासहितको प्यानल विजयी भएको छ ।
कुल १२ हजार १ सय ९३ मतदाता रहेको कुमाखमालिका गाउँपालिकामा ८ हजार ८ सय ३८ जनाले मतदान गरेका थिए ।
गाउँपालिका अध्यक्षमा प्रदेशमै एक्लो महिला
कुमाखमालिका गाउँपालिका अध्यक्षमा निर्वाचित दिलमाया बुढामगर ६ नं. प्रदेशमै गाउँपालिका अध्यक्ष चुनिनेमा एक्लो महिला भएका छन् । जुम्लाको चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल नगर प्रमुखमा चुनिए पनि गाउँपालिकातर्फ कोही पनि महिला अध्यक्ष चुनिएका छैनन् ।
२०५३ सालदेखि माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ताको रुपमा लागेकी बुढा हाल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुन् । युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकारकी उप–प्रमुख, प्रमुख हुँदै जिल्ला जनसरकार उपप्रमुखसम्म भइसकेकी उहाँ सहिद पत्नीसमेत हुनुहुन्छ । युद्धकालमै २०५६ चैतमा उनका श्रीमान् तत्कालीन माओवादी पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रकाश गिरीलाई प्रहरीले हत्या गरेको थियो ।
२०३५ मंसिर ८ गते रुकुम खोलागाउँमा जन्मिएकी बुढा जनयुद्धको शुरुवातसँगै तत्कालीन सुरक्षा दल र स्क्वाइडमा समेत केही वर्ष अनुभव हाँसिल गरेका थिए । हाल माओवादीको भातृ संगठन अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, सहिद परिवारको समाज सल्यानको अध्यक्षलगायतका जिम्मेवारी पनि वहन गरिरहेकी उनी माओवादी पकड क्षेत्रको रुपमा चिनिएको कुमाख मालिका गाउँपालिकाबाट अध्यक्षमा प्रतिद्वन्द्वी उम्मेदवारभन्दा झण्डै दोब्बर मतले विजयी भएका हुन् ।