काठमाडौं,  १६वैशाख ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकै चरणमा चुनाव गर्नुपर्ने अडान कायम राख्ने निर्णय गरेको छ । शनिवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी समिति बैठकले बजेट पनि सार्न नदिने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव घनश्याम भुसालले बताए ।

uml-officeएमाले स्थायी समिति बैठकले जसरी पनि दुई चरणको चुनाव रोक्ने र त्यसका लागि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सरकारले मधेसवादी दलहरुको माग सम्बोधन गर्न र मधेसवादी दललाई निर्वाचनको प्रक्रियामा सहभागी गराउन भन्दै वैशाख ३१ र जेठ ३१ मा गरी दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

निर्वाचन एकै चरणमा गराउन र बजेट सार्न नदिनका लागि एमालेले दबाब जारी राख्ने जनाएको छ । सरकारको निर्णयअनुसार निर्वाचन आयोगले पनि स्थानीय तहको निर्वाचन कार्यतालिका परिमार्जन गरिसकेको छ ।

यस्तै, एमाले स्थायी समिति बैठकले प्रदेश नम्बर ६ का पार्टीका उम्मेदवारहरुको प्रस्ताव अनुमोदन गरेको छ भने प्रदेश नम्बर ३ को उम्मेदवारकाबारेमा ब्रिफिङ गर्ने काम मात्रै भएको नेता भुसालले बताए ।

संशोधन बिधेयकलाई असफल पार्ने

बैठकले व्यवस्थापिका–संसदमा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन बिधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गर्नुका साथै सम्पूर्ण प्रयत्नका साथ उक्त बिधेयकलाई असफल पार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

बैठकमा प्रदेश नम्बर ३ का संयोजक कमरेड अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारकाबारेमा प्रगति विवरण प्रस्तुत गरेका थिए ।

८२ वटा तहमा सर्वसम्मत उम्मेदवार तय

प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा सबै उम्मेदवार निर्णय भइसकेको एमालेले जनाएको छ । यसैगरी प्रदेश नम्बर ३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मत रुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र आइतबारसम्ममा त्यसलाई टुंगो लगाइने एमाले सचिव भट्टराईले बताए ।

यसैगरी, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवाहरुको टुंगो लागिसकेको र अन्य जिल्लामा पनि ९० प्रतिशत भन्दा बढी स्थानमा उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन भएको एमालेले जनाएको छ ।

यस्तै, प्रदेश नम्बर ४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको र उक्त प्रदेशका बारेमा अर्को बैठकमा छलफल गरिने भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रातोपाटीबाट