काठमाडौँ, ७ वैशाख । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि १० हजार ६४० मतदान स्थल र १८ हजार ५७२ मतदान केन्द्र निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले मतदान स्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभयो ।

Election-1काठमाडौँमा सबैभन्दा बढी ६८६ मतदान केन्द्र छन् भने सबैभन्दा थोरै मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ । आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले कुन मतदान स्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुङ्गो लागेको छ ।

सुरक्षाको प्रत्याभूति
प्रमुख निर्वाचन आयुक्त यादवले चुनावमा सुरक्षाको पूर्ण प्रत्याभूति भएको हँुदा ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गोरखापत्रमा समाचार छ । निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन व्यवस्थापन सम्बन्धी प्रशिक्षणमा यादवले निर्वाचनको वातावरण अनुकूल बन्दै गएकोसमेत बताउनुभयो ।

कहीँ कतै समस्या देखियो भने आयोगलाई खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले पूर्ण विश्वासका साथ उच्च आत्मबल बनाएर स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पूरा गर्ने कर्मचारीको साथमा आयोग रहेको बताउनुभयो ।

अभिव्यक्तिमा आपत्ति
निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले दाङको तुल्सीपुरमा व्यक्त गर्नुभएको विचार र पार्टीका पछिल्ला क्रियाकलापप्रति आपत्ति प्रकट गरेको छ ।

मन्त्रिपरिषद्को वरिष्ठ सदस्यसमेत रहेको दलका तर्फबाट आयोगको निर्णय जलाउने तथा विज्ञप्ति जारी गर्ने क्रियाकलापबाट मर्माहत भएको आयोगको प्रेस विज्ञप्तिमा छ । नेपालको संविधान र कानुन अनुसार आयोगले काम गरिरहेको र त्यस्तो काम नगर्न दबाब दिने क्रियाकलापप्रति आयोगले गम्भीर आपत्ति प्रकट गरेको छ । आयोगले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन ध्यानाकर्षणसमेत गराएको छ ।

पूर्व निर्णय थाती
आयोगको बुधबार बसेको बैठकले राप्रपाले आयोगसमक्ष पेस गरेको ज्ञापन पत्रलाई हाल थाती राख्ने निर्णय गरेको छ । आयोगले यस विषयमा स्थानीय तहको निर्वाचनपछि मात्रै निर्णय गर्ने जानकारी दिएको छ । आयोगले राप्रपाको विधानबाट ‘राजतन्त्र र हिन्दु अधिराज्य’ हटाउन गरेको निर्णयप्रति राप्रपाले असन्तुष्टि जनाउँदै आएको छ ।