काठमाडौं, ७ वैशाख । यातायात व्यवस्था कार्यालय इटहरीका कर्मचारीहरूले करिब ५७ करोड रुपैयाँ राजस्व हिनामिना गरेको पाइएको छ । सेवाग्राहीबाट उठाइएको ५६ करोड ५८ लाख रुपैयाँ राजस्व कार्यालयका कर्मचारीहरूकै मिलेमतोमा हिनामिना गरिएको भेटिएको छ ।
यातायात व्यवस्था विभाग काठमाडौंले इटहरीस्थित यातायात कार्यालयमा ठूलो आर्थिक अनियमितता भइरहेको आशंकासहित अनुसन्धान गर्दा यो रहस्य खुलेको हो । करोडौं रुपैयाँ राजस्व हिनामिना गरेको भेटिनासाथ विभागले बुधबार नै यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी, रुद्रप्रसाद दाहाल र नायब सुब्बा टीकाराम बाँस्तोलालाई निलम्बन गरेको छ ।
निलम्बनमा परेका पाँचैजना कर्मचारीहरूमाथि थप अनुसन्धान गर्न विभागले बुधबार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । विभागले अख्तियारलाई पठाएको पत्रमा यातायात व्यवस्था कार्यालय इटहरीको महालेखा परीक्षण गर्ने कर्मचारीलाई समेत अनुसन्धानको दायरामा ल्याउन अनुरोध गरिएको छ ।
सवारी कर, यातायात दस्तुर, सडक सुधार कर, आय कर आदिबापत संकलन भएको राजस्व हिनामिना गर्दा कर्मचारीहरूले नै फर्जी बिलसमेत तयार पारेको भेटिएको विभागले जनाएको छ ।
घोटालाका प्रमुख योजनाकार लेखापाल सुरेश अधिकारी रहेको विभागले जनाएको छ । अधिकारीकै योजनामा तीन वर्षदेखि राजस्व घोटाला हुन थालेको ठहर गरिएको छ । विभागले यस कार्यमा निलम्बित कर्मचारीका साथै अन्य सरकारी कर्मचारीहरूको समेत संलग्नता हुन सक्ने आशंका गरेको छ ।
विभागले सरुवा गरिसकेको भए पनि करिब पाँच वर्षअघिदेखि नै अधिकारी अटेर गर्दै इटहरी कार्यालयमा बसेका थिए । राजधानीमा खबर छ । कार्यालयबाट उनलाई रमानापत्र दिइएको थिएन । यस विषयलाई लिएर अख्तियारले विभागलाई पहिले पनि पत्राचार गरेको थियो ।
तर, अधिकारीले रमानापत्र लिनुको सट्टा सांसददेखि मन्त्रीसमेतको सोर्सफोर्स लगाएर अटेर गरिरहेका थिए । अधिकारीको पक्षमा विभागका उच्च अधिकारीहरूलाई सांसददेखि मन्त्रीसम्मले सरुवा नगर्न दबाब दिइएको बताइएको छ ।