धादिङ, ५ वैशाख । धादिङको वेनिघाटरोराङ गाउँपालिका–३ बागुराङका डेढ वर्षका बालक बुद्धिलाल चेपाङ गएराति सुतिरेहेको ठाउँबाटै हराएका छन् । भूकम्पपछि खर र त्रिपालको छानोले बनेको अस्थायी टहरामा बुबाआमासँगै सुतेका बालक रातिको २ बजे वेपत्ता भएका हुन् ।

babyराति २ वजे बुबाआमा ब्युझँदा डेढ वर्षका बालक बुद्धिलाल नभएको बुबाआमाले बताएका छन् । बुद्धिलालसँगै सोमबहादुरका दुई छोराहरु पनि सुतेका थिए । बुद्धिलाल सोमबहादुर र मनमायाका कान्छो छोरा हुन् ।

आफ्नै काखमा सुताएको कान्छो छोरा सबै जना निद्रामा भएको बेला हराएपछि आमा मनमाया अचेत जस्तै बन्नुभएको छ । हिँड्डुल समेत गर्न नसक्ने बुद्धिलाल कसैले चोरी गरेको हुन सक्ने गाउँलेले अनुमान गरेका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत मलेखुबाट डेढ घण्टाको सवारी यात्रा र झण्डै ३ घण्टाको पैदल यात्रा पछि मात्र पुगिन्छ बागुराङ गाउँ । गरिब र न्यून आय भएका दुर्गमको चेपाङ समुदायबाट मध्यरातमा बालक हराएपछि वरपरका गाउँलेहरु समेत त्रसित बनेका छन् ।

चेपाङ बालक मध्यरातमा हराएपछि रातिदेखि नै गाउँलेहरुले खोजी गरिरहेका छन् । तर गाउँघर वरपरमा बालक नभेटिएपछि बागुराङबासी त्रसित बनेका छन् । उज्यालोका लागि अर्जुन श्रेष्ठले खबर लेखेका छन्, गाउँलेहरुले हराएको बालक आफूहरुले खोजी गर्दा नभेटेपछि प्रहरीलाई खवर गरेका छन् । प्रहरी चौकी ताल्तीबाट सोमबार दिउँसो प्रहरीको टोली गाउँ पुगेको छ । घटनाको अनुसन्धान र खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण बहादुर सिंहले बताए ।