विराटनगर, ५ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद गर्नुभएको छ ।वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर ११ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारूसंग सम्बन्ध विच्छेद गर्नुभएको हो ।
पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्ध विच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिनुभएको छ । उहाँलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उहाँ उम्मेदवार बन्ने निश्चित छ ।
स्थानीय निर्वाचनमा सबै स्थानीय निकायका प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरूले एकजना दलित महिलालाई सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनुपर्ने नीति छ ।
दलित महिलालाई उम्मेदवार बनाउन नसके त्यो पद खाली रहन्छ र त्यो पदमा अरू महिलालाई उम्मेदवार बनाउन पाइँदैन । विराटनगर ११ मा अरू दलित महिला उम्मेदवारका आकांक्षी नभेटिएपछि पार्टीले परियारलाई दलित महिला कोटाबाट वडा सदस्यको उम्मेदवार उठाउने निश्चित भएको एमाले विराटनगर ११ का अध्यक्ष सुरज श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार पार्टीमा सक्रिय र दलित महिला पनि भएकाले एमालेले परियारलाई वडा सदस्यको उम्मेदवार बनाउने भएको हो । ुदलित महिला कोटाबाट स्थानीयस्तरमा भिजेको उम्मेदवार पार्टीलाई चाहिने भयोु, उहाँले भन्नुभयो, ुत्यही भएर पार्टीको रोजाइमा उहाँ पर्नुभएको हो । श्रेष्ठका अनुसार पतिसँग सम्बन्ध विच्छेद गरेर पतिको नामबाट लिएको नागरिकता रद्द गर्दै माइतीको थरबाट नागरिकता बनाएपछि पार्टीले उहाँलाई दलित महिला कोटाबाट उम्मेदवार बनाउने भएको हो ।
स्थानीय सवदनारायण सरदार थारूसँग रिंकुदेवीको १८ वर्षअघि प्रेम विवाह भएको थियो । उहाँका दुई छोरा छन् । विवाह भएपछि उहाँले पतिकै नाम र थरबाट नागरिकता लिनु भएको थियो । पतिले ११ वर्षअघि कान्छी पत्नी भित्र्याएपछि दुईजनाबीच राम्रो सम्बन्ध थिएन । अन्नपूर्ण पोष्टबाट
