खाँदबारी, १५ चैत । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा एकै स्थानमा हिमाल, पहाड र तराईका लोकनृत्यहरू प्रस्तुत गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ती नृत्यहरू प्रस्तुत गरिएका हुन् । कार्यक्रममा सङ्खुवासभाका कलाकारहरूले हिमाल, पहाड र तराईमा बसोबास गर्ने आदिवासी, जनजातिका परम्परागत लोकनृत्यहरू देखाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले हिमाल, पहाड र तराईका आदिवासी, जनजातिका परम्परागत लोकनृत्यहरू देशको अमूल्य सम्पदा भएको धारणा राखे । उनले भने, ‘लोकसंस्कृतिको एकीकरण भएमात्रै देशको समग्र समृद्धि संभव हुन्छ ।’
प्रतिष्ठानका प्राज्ञ माधव प्रधानले देशको हिमाल, पहाड तथा तराईमा बोबास गर्ने सबै जातजातिका मौलिक र परम्परागत लोकनृत्य, नाट्य र सङ्गीतको संवद्र्धनका खातिर प्रतिष्ठानले दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए ।
सो अवसरमा लोकसंस्कृति अन्वेषक ताराबहादुर बुढाथोकीले सङ्खुवासभामा प्रचलित आदिवासी, जनजातिका परम्परगत लोकनृत्यबारे गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।











