काठमाडौँ, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री चीनको हेनानमा वार्षिक रूपमा आयोजना हुने ‘बोआओ फोरम फर एसिया’ सम्मेलनमा सहभागी हुन बिहीबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
राति ११ः०० बजे चीन प्रस्थान गर्नुभएको प्रधानमन्त्रीसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा सरकारका विशिष्ट अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्रीलाई नेपाली सेनाको एक टुकडीले विशेष सलामी अर्पण गरेको थियो । बिदाइ समारोहमा उपप्रधानमन्त्रीहरू विमलेन्द्र निधि, कमल थापा, मन्त्रीहरू, मुख्य सचिव, प्रधानसेनापति, जनपथ तथा सशस्त्र प्रहरीका प्रमुख तथा सरकारका विशिष्ट अधिकारीको उपस्थिति थियो ।
भूमण्डलीकरण र स्वतन्त्र व्यापारमा एसियन अवधारणा भन्ने मूल भावसहित आयोजना हुनलागेको सम्मेलनको उद्घाटन सत्रलाई प्रधानमन्त्री प्रचण्डले विशेष वक्ताका रूपमा सम्बोधन गर्नुहुनेछ । सम्मेलनको उद्घाटन सत्रमा सहभागी भएर प्रधानमन्त्री बेइजिङ जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । बेइजिङमा रहँदा प्रधामन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जीन पिङ तथा चिनियाँ कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ ।
बेइजिङमा उहाँले बेइजिङ अन्तर्राष्ट्रिय अध्यायन विश्वविद्यालयमा बुद्धिजीवी, व्यापारी, प्राज्ञिक समुदाय तथा विद्यार्थीलाई ‘नेपाल चीन सम्बन्धः समृद्धि र विकासका लागि अवधारणा’ वषयमा प्रवचन दिनुहुने कार्यक्रम छ । बेइजिङमा प्रधानमन्त्रीले त्यहाँस्थित विश्वविद्यालय परिसरमा स्थापित नेपाल अध्यन केन्द्रको उद्घाटन गर्नुहुनेछ । प्रधानमन्त्रीले चिनियाँ व्यापारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बेइजिङपछि ल्हासा हुँदै स्वदेश फर्कनुहुने प्रधानमन्त्रीले ल्हासा स्वायत्त जनसरकारका विशिष्ट अधिकारीहरूसँग भेट गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री चैत १६ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।
यसअघि, प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण रहने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार चीन भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री र विज्ञहरूसँग सुझाव लिँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
उहाँले आफू बोआओ सम्मेलनमा सहभागी हुन चीन जान लागेको जानकारी दिँदै यस क्रममा उच्च स्तरीय भेटघाट र छलफल हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण मूलतः सद्भावना भ्रमण भएको जानकारी दिँदै दुई देशबीच विश्वासको वातावरण बढाउने तथा नेपालको हितका विविध विषयमा छलफल हुने जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री र विज्ञका सुझाव धेरै फलदायी रहेको बताउँदै सुझावका लागि धन्यवाद ज्ञापन गर्नुभयो । गोरखापत्रबाट
