काठमाडौँ, १० चैत्र । करिब अठार वर्ष सिंगापुर पुलिस फोर्समा सेवा गरी अवकाश लिएका पाँचथरका युवा अशोक मुकारुङको साङ्गीतिक अभिरुचि पुरानै हो । स्कुले जीवनदेखि नै गीत गायनमा लागेका उनले जागिरे जीवनमा रहँदा पनि आफ्नो अभिरुचिलाई निरन्तरता दिइरहे । यसअघि तीन वटा गीति एल्बम ल्याइसकेका उनी पछिल्लो पटक चौथो एल्बमका रुपमा ‘झुल्केको घाम’ लिएर श्रोतामाझ आएका छन् ।

jhulkeko1उनको एल्बमको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा गायक÷सङ्गीतकार गणेश रसिकले राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरे । ‘कृतिपूजा’ नाम दिइएको कार्यक्रममा प्रमुख अतिथि रसिकले एल्बमका गीतहरू सुन्दा अशोकलाई आफूले एउटा क्षमतावान् गायकका रुपमा पाएको विचार प्रकट गरे ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, कवि तथा गीतकार श्रवण मुकारुङले ‘झुल्केको घाम’ एल्बमका गीतहरू सुनेर आफू निकै आनन्दित भएको बताए । उनले सुनाए, ‘गीत गाउनु पनि एउटा विशेष साधना गर्नु हो । अशोक यो साधनाबाट खारिएका प्रतिभा हुन् भन्ने कुरा एल्बमका गीतहरूले प्रमाणित गरेका छन्. ।’

IMG_8531यसै गरी सङ्गीतकार आभासले नेपाली सङ्गीत उद्योगमा दुई वटा धार विद्यमान रहेको उल्लेख गरे । उनले सुनाए, ‘एउटा धार चरम व्यावसायिक र अर्को धार आत्मकेन्द्री धार छ । अशोक दोस्रो धारमा पर्छन्, जुन धार मौलिक नेपाली गीत–सङ्गीतको धार हो । यस धारले व्यावसायिकतालाई होइन मौलिकतालाई पक्रेको पाइन्छ ।’

कार्यक्रममा नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू, गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले पनि गायक तथा एल्बमका बारेमा बोलेका थिए । उक्त अवसरमा दुई वटा म्यजिक भिडियो देखाइएको थियो ।

सेवा इन्टरटेन्टमेन्टले बजारमा ल्याएको एल्बम ‘झुल्केको घाम’मा ‘झुल्केको घाम’, ‘लैबरी…’, ‘पानी त चिसो’, ‘तिमीबाट’, ‘धरानैकी सोल्टिनी’, ‘पिरती भाका’, र ‘पिखुवा खोला’ समेत सात गीत समेटिएका छन् । गंगाराज मुकारुङ, गौरव गुरुङ, वसन्त थाम्सुहाङ र तुलसी बस्नेतका शब्दका साथै वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ र सुमन राईको सङ्गीत रहेको छ ।