घोराही- सरकारले चालू आर्थिक वर्षमा दाङ–सुर्खेत सडक योजनाअन्तर्गत दाङको बालापुरदेखि हापुरेसम्म कालोपत्रे गर्न २७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

sadkसो खण्डको १४ किलोमिटर कालोपत्रे गर्न सो रकम विनियोजन गरिएको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले बताए । कालोपत्रेको काम धमाधम भइरहेको कार्यायले बताएको छ । सो सडक खण्डको दोघरेदेखि बालापुरसम्म कालोपत्रेको काम ठेकेदारको लापरवाहीले अलपत्र परेको थियो । हाल पहिलेको ठेकेदारसँग ठेक्का रद्द गरेर नयाँ टेण्डर प्रक्रिया अघि बढाइएको छ ।

दाङ–सुर्खेत सडकको ३३ किलोमिटर खण्ड दाङ डिभिजनले हेर्ने गर्छ । बाँकी ४६ किलोमिटर भने सुर्खेत डिभिजन कार्यालयअन्तर्गत पर्छ । बहुवर्षे योजनाअन्तर्गत सञ्चालन भएको उक्त योजना निर्माण कम्पनीको लापरबाहीले समयमा काम नभएको गौतमले बताए । ‘हामीले समयमा योजना सम्पन्नका लागि निरन्तर पहल गरिरहेका छौं,’ उनले भने, ‘काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ टेण्डर आह्वान गरेर काम गर्ने डिभिजनको योजना छ ।’ सडक कालोपत्रेपछि भेरी अञ्चलका पहाडी जिल्ला र कर्णाली अञ्चललाई प्रत्यक्ष दाङसँग जोड्न सकिनेछ । दाङ–सुर्खेत सडक खण्ड कुल ७९ किलोमिटर पर्छ ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले दाङ–सुर्खेत सडक निर्माणमा ढिलाइ हुँदा यस क्षेत्रका सर्वसाधारण तथा व्यसवसायी मर्कामा परेको बताए । उनले सडक कालोपत्रे नहुँदा सुर्खेत पुग्न बाँके हुँदै लामो दूरीबाट जानुपर्छ । ‘विकासको प्रमुख आधार भनेकै सडक सञ्जाल हो,’ रिजालले भने, ‘यस्ता ठूला सडक आयोजना समयमा सम्पन्न नहुँदा निर्माण लागतसमेत बढिरहेको छ ।’ सडक कालोपत्रेपछि पश्चिम दाङका सर्वसाधारणको कृषि उपजले सहजरूपमा बजार पाउने उनको भनाइ छ । त्यसैगरी, दाङमा उत्पादित खाद्यान्न कर्णाली लैजान सहज हुने रिजालले बताए ।

‘कर्णालीमा उत्पादित फलफूल तथा जडिबुटीलाई दाङ ल्याउन यो सडक अति उपयोगी हुनेछ,’ उनले भने, ‘दाङ–सुर्खेत सडकको दूरी घट्ने भएकाले यसबाट मात्रै वार्षिक करोडौंको इन्धन बचत हुनेछ ।’ दाङलाई ५ नम्बर प्रदेशको राजधानी बनाउनका लागि प्रस्ताव गरिएकाले यो सडक निर्माणले अन्तरप्रदेशीय सम्बन्ध कायम गर्न पनि सहयोग पुग्ने रिजालले बताए । ६ नम्बर प्रदेशको राजधानी सुर्खेत बनाउने पहल भइरहेको छ । अभियानबाट