दाङ, ५ चैत । जनसाँस्कृतिक महासंघ नेपाल दाङले आज (शनिबार) घोराहीमा साँस्कृतिक प्रतिरोध दिवस मनाएको छ । हरेक वर्ष चैत ५ गते मनाउँदै आएको सांस्कृतिक प्रतिरोध दिवस यस वर्ष पनि मनाइएको हो ।
दश वर्षे विद्रोहका क्रममा २०५५ चैत्र ५ गते काभ्रेको अनेकोटमा ७ जना र २०५६ सालमा रोल्पाको भावाङमा ११ जना कलाकारहरुलाई सामूहिकरुपमा हत्या गरिएको थियो । सामूहिक रुपमा मारिएका कलाकार तथा विभिन्न समयमा मारिएका कवि–लेखक र संस्कृतिकर्मीहरुको स्मृतिमा जनसाँस्कृतिक महासंघले साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ ।
यसैबीच महासंघ दाङका पूर्वअध्यक्ष रञ्जित बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) दाङका इन्चार्ज जीवन गौतमले जनयुद्धका क्रममा संस्कृतिकर्मीहरुको योगदान र बलिदानले नै अहिलेको उपलब्धि प्राप्त भएको बताउनुभयो । ‘राजनीतिक परिवर्तन र समाज रुपान्तरणका लागि सांस्कृतिक परिवर्तन अनिवार्य सर्त हो, उहाँले भन्नुभयो, ‘दश वर्षे जनयुद्धमा संस्कृतिकर्मी र अझ विशेष गरी जनकलाकारहरुले निर्वाह गरेको भूमिका र बलिदान अतुलनीय छ ।’
जनयुद्धको सौन्दर्यशास्त्र र परिवर्तनका अभियन्ताहरुमै देखिएको जीवन व्यवहारमा निकै भिन्नता आएको भन्दै उहाँले कमीकमजोरीहरुलाई सच्याउँदै जनवादी संस्कृति र मूल्यमान्यतालाई आत्मसात नगरिकन आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल लेखक संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर डाँगीले कवि, लेखक र जनकलाकारहरुले सदैव सिर्जनाका माध्यमबाट साँस्कृतिक रुपान्तरणका लागि खबरदारी गरिरहनुपर्ने बताउनुभयो । समयसँगै परिवर्तन गर्छौं भन्ने अभियन्ताहरु आफै बदलिने खतरा रहेको भन्दै डाँगीले उनीहरुलाई पनि खराबीहरुबाट जोगाउने दायित्व संस्कृतिकर्मीहरुको रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति सदस्य लेखराज रेग्मी, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय पार्षद रामप्रसाद जैशी र नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष डिल्ली मल्लले बोल्नुभएको थियो ।
सो अवसरमा कवि यज्ञबहादुर डाँगी, विप्लव बुढामगर, राधिका परियारलगायतले कविता तथा गीत सुनाउनुभएको थियो । जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य प्रमोद धितालको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव श्रीधर भावुकले गर्नुभएको थियो ।











