अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलबाट उठाउनु पर्ने कर आफुले जसरी पनि उठाउने घोषणा गरेका छन् । महराले एनसेलले बाँकी कर नतिरे उसको कम्पनी बन्द गरिदिने धम्की समेत दिएका छन् । पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै महराले यस्तो बताएका हुन् ।
उनले भने,‘म बिश्वस्थ छु, एनसेलले कर तिर्छ, यदी एनसेलले कर तिरेन भने एनसेल नै नेपालमा रहँदैन किनकि कर तिर्नु सबैको दायित्व हो । त्यसमा हामी सचेत छौं।’
बाँकी उनको वार्ताको संपादित अंश :
एनसेलले कर किन दिएन ?
मेरो प्रष्ट धारणा कर असुली गर्नु पर्छ भन्ने हो । कर छल्ने वा करबाट उन्मुक्ती दिने कुरा म अर्थमन्त्रीको हैसीयतले प्रोत्साहन दिन सक्दीन । कोही पनि व्यक्ती होस् ,कर सबैले तिर्नु पछर्, एक पैसा पनि नछोडीकन । तर कर असुल गर्दा न्याय संगत हुनु पर्दछ । त्यो कुराको ध्यान पुराउने मन्त्री र सरकारले होइन तर कर असुल्ने कर अधिकृतहरुले हो कर दाताहरुले हो ।
तर क्यावीनेटमा प्रस्ताब लिएर त जानु भयोे नी तपाईले एनसेलको लाभकरको कुरा गर्दा ?
म तपाईलाई स्पष्ट पार्न चाहन्छु । हामीले अर्थ मन्त्रालय मार्फत क्याबिनेटमा लिएर गएको होईन यो । एनसेलले एउटा निबेदन संसदको अर्थ समिति, सार्वजनिक लेखा समिति,बिकास समिति तथा प्रधानमन्त्री कार्यालयमा आवश्यक प्रक्रिया अघि बढाई पाउँ भनी निबेदन पेश भएको थियो सो निबेदन प्रधानमन्त्री कार्यालय मार्फत क्याबिनेटमा छलफलका लागि गएको हो ।
एनसेलको बिवाद चाँही खासमा के हो त स्पष्ट पारीदिनुस् न ?
एनसेलमा बिवाद भनेको कर तिर्दीन भन्नेमा उहाँहरु कोही पनि बिवादीत हुनुहुन्न । तर कर चाँही क्रेता र बिक्रेताले कुन पक्षले कति तिर्ने भन्नेमा उहाँहरु बिचमा बिवाद छ । त्यो बिवादमा क्रेताले पैसा तिरेर कम्पनी किनिसकेपछि बिक्रेतालाई पैसा दिने हो । किनकी पैसा त बिक्रेतासँग हुन्छ नी । यही बिषयमा कर क्रेता वा बिक्रेता कसले कति तिर्ने भन्नेमै उहाँहरु बिचकै यो बिवाद हो । प्रधानमन्त्री कार्यालयमा आएको एनसेलको निबेदनका उपर क्याबिनेटमा कुरा भएको हो । मैले त्यहाँ पनि स्पष्ट रुपमा भनेको छु, कानूनसंगत ढंगले कर तिर्नु पर्छ , कर तिर्नवाट कसैले उन्मुक्ति पाउँदैन र कर जसलाई लाग्ने हो लाग्नु पर्यो । क्रेता वा बिक्रेता पेश गरेको थियो ।
उसो भए तपाई एनसेलले लाभकर तिर्नु पर्छ भन्ने पक्षमा हुनुहुन्छ ?
पक्षमा होईन एनसेलले कर तिर्नैपर्छ । कर नतिर्ने भन्ने कुरा हुदै हुदैन । एनसेलले कर तिर्नैपर्छ । एनसेलले तिर्नु पर्ने करमा एक रुपैंया पनि छुट नदिई उठाउनु पर्छ भन्ने पक्षमा म छु । कर नतिर्नेलाई नेपालको कानून बमोजिम कारवाही हुन्छ ।
तर एनसेलका केही ब्यक्तिहरुले कर नतिर्ने कुरा गरीरहेका छन् नि ?
कर नतिरे कारवाही हुन्छ । तिर्नु पर्ने दायित्ववाट कोही पनि उम्कन मिल्दैन । कर नतिर्ने कुरा गर्यो भने हामी कारवाही सम्मको प्रक्रियामा जान्छौं । यसमा तपाई ढुक्क हुनुहोस् । कर तिर्नैपर्छ हामी तिराएरै छाड्छौं ।
उसो भए एनसेलले कर तिर्छ होईन त ?
तिर्छ नतिर्ने कुरै हुदैन । यस बिषयलाई धेरै ठूलो ईस्सु बनाईएको छ । म अर्थमन्त्री भएपछि त मैले यसलाई छिट्टै टुङ्ग्याउनु पर्छ भनेर भन्दै आईरहेको छु र म भनी पनि रहने छु । यो बिषयलाई छिटो टुङ्गोमा पुर्याउनु पर्छ र हाम्रो ऐन कानून अनुरुप नै कानूनी दायरामा ल्याएर न्यायोचित रुपमा कर तिराउनु पर्छ । मैले त सधै भन्दै आईरहेको छु कर अधिकृतहरुलाई र सम्बन्धित पक्षलाई कर क्रेताले तिर्ने हो या बिक्रेताले जसले तिर पनि छिटो गर्नु पर्यो भनेर । तर म अर्थमन्त्री हुनुभन्दा पहिलेको सरकारले यस बिषयलाई ठूलो ईस्सु बनायो तर किन कर उठाईएन ? म पूर्ववर्ती सरकारलाई यो प्रश्न् उठाउन चाहन्छु ।
त्यती खेर त एनसेललाई कर छुट दिने कुरा पनि त उठेको थियो नि त ?
किन छुट दिने एनसेललाई । कर कसैलाई पनि छुट हुदैन । कर नतिर्नेलाई कारवाही हुन्छ, मैले त एकहप्ताभित्र एनसेलले तिर्नुपर्ने करको रकम निर्धारण गरेर प्रक्रिया अगाडी बढाउनुस् भनेको छु । एनसेलको हकमा कर नतिरी उन्मुक्ति क्रेताले पनि पाउँदैन , बिक्रेताले पनि पाउँदैन । जसलाई कर लाग्नु पर्ने हो उसले कर तिर्नैपर्छ ।
तर एनसेलको लाभकरका बिषयमा त क्याबिनेटमै मत मतान्तर भयो भन्ने छ नि ?
हेनुस् मैले अघि पनि भने, यो प्रधानमन्त्री कार्यालय मार्फत क्याबिनेटमा छलफलका लागि आएको हो । क्याबिनेटमा धेरै बिषयको छलफल हुन्छ, एनसेलको पनि भएको हो । तर क्याबिनेटले अहिलेसम्म निर्णय त गरेको छैन नी ? क्याबिनेटमा त छिटो कर उठाउनु पर्यो भनेर छलफल गरीएको हो । त्यती मात्रै होईन अर्थमन्त्रालय, संसदीय समितिले पनि सम्वन्धित कार्यालयलाई निर्देशन दिने हो कर उठाउनका लागि । प्रधानमन्त्री कार्यालयले पनि त्यही गर्ने हो, त्यसमा पनि हालको आयकर ऐनले र अधिकृतलाई ठूलो अधिकार दिएको छ । उहाँहरु पनि यसमा लागि रहनु भएको छ । हामीले त छिटो कार्यान्वयन गर्नुस् भनेर निर्देशन दिने हो । हाल यसमा बिद्याधर मल्लिकको अध्यक्षतामा परामर्श समितिको एउटा बिज्ञ टिमले परामर्श गरीरहेको छ । यो बिषय छिट्टै टुङ्गिन्छ । एनसेलले कर तिर्छ तिर्छ, म त्यसमा बिश्वस्त छु ।
यदी एनसेलले कर तिरेन भने ?
म बिश्वस्थ छु, एनसेलले कर तिर्छ, यदी एनसेलले कर तिरेन भने एनसेल नै नेपालमा रहँदैन किनकि कर तिर्नु सबैको दायित्व हो । त्यसमा हामी सचेत छौं ।
जनपाटी डटकमबाट