काठमाडौँ, २९ फागुन। निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहमा चैत ३ गतेभित्र पुग्ने गरी कर्मचारी खटाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले सामान्य प्रशासन मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई समन्वय गरी कर्मचारीको खटनपटनको व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको हो ।

सरकारले शुक्रबार स्थानीय निकाय भङ्ग गरी ७४४ वटा स्थानीय तह लागू गर्ने घोषणा गरेको भोलिपल्टै आयोगले ती निकायमा कर्मचारीको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

आयोगले यसरी कर्मचारी खटनपटन हुनुअघि तत्कालैबाट निर्वाचनसम्बन्धी कार्य गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा कायम मुकायम वा निमित्त मुकरर गरी त्यसको जानकारी यथासम्भव छिटो निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको जानकारी प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभयो ।

बैठकले सामान्य प्रशासन मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई स्थानीय तहमा स्वीकृत दरबन्दीबमोजिमको कर्मचारी खटाउँदा सम्भव भएसम्म सम्बन्धित सेवा÷समूहका कर्मचारी खटाउन र सम्भव नभएमा अन्य उपयुक्त सेवा÷समूहबाट कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिने निर्णयसमेत गरेको छ । गोरखापत्रमा खबर छ । यसैगरी, शनिबारको बैठकले स्थानीय तहको निर्वाचन अवधिभर निर्वाचन कार्यमा हुने कर्मचारी खटनपटनमा असर पर्ने गरी कुनै पनि तालिममा कर्मचारी नखटाउन निर्देशन दिएको छ ।