काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजान स्थानीय तहको निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

prachandaबिहीबार राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भने, ‘राजनीतिक संक्रमण लम्बिँदै जाँदा जनतामा निरासा छाउँछ, पश्चगामी शक्तिले टाउको उठाउने प्रयास गर्दछन् । नयाँ संविधानले स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित महत्वपूर्ण अधिकार दिएको छ । ती अधिकारको कार्यान्वयनका लागि निर्वाचनको कुनै बिकल्प छैन । स्थानीय तहको निर्वाचनले मात्र सिंहदरबारमा केन्द्रित अधिकारलाई गाउँमा लैजाने वातावरण बन्छ । त्यसैले स्थानीय निर्वाचन अपरिहार्य छ ।’

सूचनाको हक लोकतन्त्रको स्तम्भ भएकोमा प्रधानमन्त्रीले जोड दिए । प्रधानमन्त्रीले भने, ‘सूचना र सूचनाको हक प्रभावकारी भयो भने मात्रै लोकतन्त्र बलियो हुन्छ । जनताले जति सजिलै सूचना पाउँछन्, त्यति नै जनताको पक्षमा बनेका नियम, कानून र अधिकारहरु लक्षित वर्गमा पुग्दछन् र कार्यान्वयन हुन्छन् । आजको युग आफै पनि सूचनाको युग हो । तसर्थ, सूचना लुकाएर लोकतन्त्र बलियो हुन्छ, प्रशासन शक्तिशाली हुन्छ भन्ने ठान्नु भ्रम हो ।’