एसएसबीको गोलीबाट कञ्चनपुरमा एक नेपालीको मृत्यु
धनगडी, २६ फागुन । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एकजना नेपालीको ज्यान गएको छ । एसएसबीको गोली लागि पर्नवास नगरपालिका–८ आनन्द बजारमा सोही नगरपालिकाका गोविन्द गौतमको ज्यान गएको हो ।
आनन्द बजारको आसपासमा निर्माण गरिएको कल्भर्ट भारतीय भूमि भएको दाबी गर्दै एसएसबीले नेपालीमाथि गोली चलाएपछि घाइते भएका गौतमको उपचारका क्रममा धनगढीस्ति सिटी अस्पतालमा मृत्य भएको हो । गौतमको डाढमा गोली लागेको थियो ।
सीमा क्षेत्रमा एसएसबीको गोलीकाण्डपछि नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनावग्रस्त बनेको छ । बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई गोली प्रहार र कुटपिट गरी घाइते बनाएका स्थानीयले बताएका छन् । गौतमको ज्यान गएपछि आज बिहीबार बिहानबाट स्थानीय नेपालीहरु सीमा बन्द गराएर नाराबाजी गर्दै बिरोधमा उत्रिएका छन् ।
एसएसबीले फेरि गोली चलायो, एक घाइते तीन अपहरण
भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी एक नेपालीको हत्या गरेपछि पनि आक्रमण रोकेको छैन । एसएसबीले आज विहिबार पनि नेपालीहरुमाथि पुनः फायरिङ गरेको छ ।
दिउँसो चार बजेतिर एसएसबीले हानेको गोली लागेको अर्का एक नेपाली घाइते भएका छन् । भारतीय सुरक्षाकर्मीको गोली लागि पुनर्वास नगरपालिका–८ का रोशन थापा घाइते भएका बतायएको छ । उनलाई उपचारका लागि धनगढी अस्पताल लगिएको छ । एसएसबीले तीन नेपालीलाई अपहरणसमेत गरेको स्थानीयले दावी गरेका छन् ।
