काठमाडौं– मधेसी मोर्चाको विरोधका बीच सरकारले स्थानीय चुनावको मिति घोषणा गरेको छ । सोमबार साँझ सम्पन्न मन्त्रिपरिषद्को तेस्रो बैठकबाट आगामी बैशाख ३१ गते चुनाव गर्ने गरी मिति घोषणा गरिएको हो ।

chunabनिर्वाचन आयोगको सुझावको आधारमा सरकारले बैशाख ३१ को मितिमा चुनाव घोषणा गरेको हो । क्याबिनेटको तेस्रो बैठक बस्नु अघि प्रम प्रचण्डले आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए र आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बैशाख ३१ मा चुनावको मिति तोक्न सुझाव दिएका थिए ।

सरकारका अनुसार बैशाख ३१ गते आइतबार देशैभर एकैसाथ निर्वाचन हुने छ । सरकारले निर्वाचनको तयारीका लागि आयोगलाई तत्काल १० अर्ब २९ करोड ६३ लाख ६७ हजार ७७५ रुपयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । सो रकम अर्थमन्त्रालयमार्फत निकाशा हुनेछ ।