रोल्पा, ९ फागुन । मोहन बैद्य माओवादीबाट अलग भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) ले पार्टीको नाम परिवर्तन गरेको छ । रोल्पाको लिवाङमा जारी आठौं महाभिवेशनको बन्दसत्रबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी पारित गरेको छ ।
बन्दसत्रमा पार्टीको नाम परिर्वतन गर्ने प्रस्तावमा पार्टीका कार्यकर्ताहरुले असन्तुष्टि जनाए पनि माओवादी शब्दको दुरुपयोग गरेको भन्दै पार्टीको नाम परिर्वतन गरेको जनाएको छ ।
कम्युनिष्ट पार्टी भनेपछि अरू कसैको नाम झुण्डाइरहनु नपर्ने विप्लवले आफ्नो दस्तावेजमा उल्लेख गरेका थिए । विप्लव पार्टीको महाधिवेशनमा सशक्त संघर्ष कि सशस्त्र क्रान्ति भन्नेमा पनि महाधिवेशन प्रतिनिधिबीच छलफल भइरहेको छ । बन्दसत्र भोलि मंगलवारसम्म चल्ने वताइएको छ । वैद्य नेतृत्वको माओवादीबाट अलग भइ नयाँ पार्टी गठन गरेदेखि नै सामानान्तर सत्ताको रुपमा जनपरिषद् गठन गरेका विप्लवले त्यसैलाई निरन्तरता दिने र जनपरिषद्लाई वैकल्पिक जनसत्ताको रुपमा अघि बढाउने निश्कर्ष निकालेको छ ।
