दाङ, ८ फागुन । भोलि सोमवार दाङको घोराहीमा मानक नेपाली भाषासम्बन्धी अभिमुखीकरण गोष्ठी हुने भएको छ । मानक नेपाली भाषा अभियान अन्तराष्ट्रिय सञ्जाल र राप्ती शिक्षा क्याम्पस घोराही दाङको आयोजनामा नेपाल पत्रकार महासंघको हलमा कार्यक्रम हुने भएको हो ।

Dr._Khagendra luitelगोष्ठीका लागि मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल दाङ आइसकेका छन् भने भोलि नै सञ्जालका उपाध्यक्ष एवं पश्चिम क्षेत्रीय संयोजक प्रा.डा. कपिलदेव लामिछाने र पश्चिम क्षेत्रीय सचिव शालिकराम पौडेल भोलिआउने बताइएको छ ।

केही समय यता नेपाली भाषाको मानक स्वरुप र वर्णविन्यासको स्तरीयकरणबारे विभिन्न विवाद र अन्यौल भइरहेको परिप्रेक्षमा उक्त कार्यक्रमले मानक नेपाली भाषाको वर्णविन्याससम्बन्धी भएको अन्यौललाई निराकरण गर्न महत्वपुर्ण भूमिका खेल्ने आयोजकले बताएको छ ।

यसैबीच आज आयोजकले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी भोलि विहान ११ बजेदेखि शुरु हुने कार्यक्रममा सहभागी भइदिन सबैलाई आग्रह गरेको छ ।

राप्ती शिक्षा क्याम्पसका प्रमुख हुकुम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सञ्जालका संयोजक प्रा.डा. लुइटेलले भाषा विगार्ने अधिकार कसैलाई नभएको बताए । उनले २०६६ सालमा विग्रदै गएको नेपाली भाषा सुधारको पक्षमा आवाज उठाउनका लागि सञ्जालको गठन भएको समेत जानकारी दिए । कार्यक्रमको सहजीकरण गर्दै टीकाराम उदासीले जिल्लामा यस्तो गोष्ठी पहिलो पटक हुन लागेको जानकारी दिए ।