काठमाडौं, ८ फागुन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच स्थानीय तहको चुनावको मिति घोषणा गर्न सहमत भएका छन्। प्रधानन्त्री निवास बालुवाटारमा आज आइतबार बिहान बसेको कांग्रेस र माओवादीको बैठकले छिट्टै निर्वाचन मिति घोषणा गर्ने सहमति भएका हुन् ।
प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेले संविधान संशोधन भन्दाअघि निर्वाचन गर्नु पर्ने अडान राख्दै आएको छ। सत्ता पक्षले भने निर्वाचन र संशोधन एकैसाथ लैजानुपर्ने बताउँदै आएको थियो। मधेसी मोर्चासँग भएको छलफल सकारात्मक हुन नसकिरहेको सन्दर्भमा सत्तारुढ दलहरुबीच भएको शीर्ष तहको बैठक यस्तो सहमतिमा पुगेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा भएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री सशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, लगायतका नेताहरु उपस्थित थिए। भोलि वस्ने क्याविनेट बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी रहेको नेताहरुले बताएका छन् ।
