रोल्पा, ४ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशनको बन्द सत्र सम्पन्न गर्न रोल्पाको थबाङमा भव्य तयारी भएको छ । काठमाडौंको खुलामञ्चमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र ‘जनयुद्धु को आधारभूमि मानिएको थबाङमा फागनु ५ गतेदेखि हुँदैछ ।
बन्दसत्रका लागि एक हजार जना अट्ने बनाइएको हल
बन्द सत्रका प्रतिनिधि, पर्यवेक्षक थबाङ आउने क्रम जारी छ । महासचिव विप्लव बुधबार साँझसम्म थबाङ पुग्नेछन् । बन्द सत्रका लागि दुई महिनाअघिदेखि तयारी थालिएको थियो । माओवादी जिल्ला सचिव दलबहादुर खत्री ‘जागृतिु बन्द सत्र तयारीका लागि लामो समयअघिदेखि थबाङमै छन् । केन्द्रीय सदस्यद्वय नन्दबहादु बुढा विजय र मोहलाल चन्द ‘आधारु पनि तयारीमा खटिएका छन् ।
सचिव जागृतिका अनुसार बन्द सत्र सञ्चालन प्रयोजनका लागि वीर बलभद्र माविनजिकैको चौरमा एक हजार मानिस अटाउने टिनको छानो भएको हल निर्माण गरिएको छ । हतार भएका कारण हलको रंगरोगन र सिमेन्ट प्लास्टरको काम हुन सकेको छैन । ‘बन्द सत्रका लागि हल र पोलिटब्युरो सदस्यलाई राख्न छुट्टै घर निर्माण गरेका छौ, सचिव जागृतिले भने, ‘प्रतिनिधि पर्यवेक्षकलाई थबाङको ठूलो गाउँका प्रत्येक घरमा सुत्ने व्यवस्था गरेका छौं ।ु ठूलो गाउँमा मात्र करिब तीन सय घर छन् ।
दाङको घोराही हुँदै थबाङ पुग्ने सडक ‘सहिद मार्गु मर्मत गरिएको छ । गाडीबाट सहजै थबाङ पुग्न सकिने व्यवस्था मिलाइएको छ । स्वागतद्वार, ध्वाजा, ब्यानर, झन्डाले थबाङ सजाइएको छ । बन्द सत्र स्थल, थबाङको ठूलो गाउँ, वरिपरिका गाउँघर, गोरेटो सफाचट पारिएको बन्द सत्र व्यवस्थापन समितिले जनाएको छ । प्रतिनिधि पर्यवेक्षकलाई खानाका लागि पाँच ठाउँमा मेसको व्यवस्था गरिएको छ । बिरामीका लागि अलग्गै मेस राखिएको छ ।
बन्द सत्रका लागि दुई करोडभन्दा बढीको लागतमा हल निर्माण गरिएको छ । सहिद स्मृति हल नामाकरण गरिएको हलको लम्बाइ १ सय ६५ फिट र चौडाइ ४० फिट छ । हलनजिकै पोलिटब्युरो सदस्य बस्ने घर निर्माण गरिएको छ । बन्द सत्र संरचना निर्माणका लागि राप्ती अञ्चलका रुकुम, रोल्पा, सल्यान, दाङ र प्युठान मात्र होइन बाँके, बर्दिया, सुर्खेत, नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, बागलुङ, धादिङ, गोरखाका नेता कार्यकर्ता खटिएको पार्टीले जनाएको छ ।
निर्माण कार्यको जिम्मेवारी निभाएका केन्द्रीय सदस्य विजयका अनुसार करिब २ सय ५० ले १०÷१० दिन श्रमदान गरेका हुन् । हलको गाह्रो लगाउन र प्लास्टर गर्न ८ जनालाई ठेक्का दिइएको थियो । बन्द सत्रका बेला पार्टी स्थायी समिति र पालिटब्युरो बैठकका लागि अलग्गै तीनकोठे भवन पनि निर्माण गरिएको छ ।
महिला र पुरुषले प्रयोग गर्न मिल्ने १२ कोठाको शौचालय बनाइएको छ । बन्द सत्रपश्चात् हल थबाङकै वीर बलभद्र माविलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ । हल र भवन निर्माण खर्चको हिसाब माओवादीले बन्द सत्र सकाएपछि सार्वजनिक गर्ने जनाएको छ ।
तत्कालीन विद्रोही माओवादीको केन्द्रीय समितिको बैठक पनि थबाङकै फुन्टिबाङमा भएको थियो । यसलाई माओवादीले घोषणा गरेको मगराँत स्वायत्त प्रदेशको मुख्या मुकाम बनाइएको थियो । अन्नपूर्ण पोष्टबाट
