निजगढ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फास्ट ट्रयाक आफ्नै हातबाट शिलान्यास हुने बताउनु भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ–काठमाडौं द्रुतमार्ग फास्ट ट्रयाक को स्थलगत निरीक्षणपछि निजगढमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो ।

Nijgadh-848x478कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘फास्ट ट्रयाकबारे केही अन्यौल थिए । फास्ट ट्रयाक नेपालले नै बनाउने निर्णय गरिएको छ । फास्ट ट्रयाकको मोडालिटी निर्माण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा समिति बनाइएको छ । समितिलाई फास्ट ट्रयाकको मोडालिटी र आर्थिक व्यवस्थापनबारे सुझाव दिन भनिएको छ । समितिले काम गरिरहेको छ । एक हप्ताभित्र समितिले प्रतिवेदन बुझाउने छ र सरकारले निर्माण कार्यलाई अगाडि बढाउने छ । यो आयोजना मेरै कार्यकालमा मेरै हातबाट शिलान्यास हुन्छ ।’
कार्यक्रममा प्रधानमन्त्रीले निजगढ बिमानस्थलको कामलाई तिब्रता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजगढ बिमानस्थल क्षेत्रभित्र पर्ने बासिन्दाको बैकल्पिक बसोबास र व्यवस्थापन गर्न सरकार गम्भीर छ । चार किल्लाभित्रको जग्गा अधिग्रहणका लागि प्रतिवेदन पेश गर्ने समिति बनिसकेका छन् । जनताले उठाएका जायज माग र मुद्दाहरुको सम्बोधन गरेर हामी बिमानस्थलको कामलाई थप तिब्रता दिनेछौं ।’

कार्यक्रममा उर्जा राज्यमन्त्री सत्यनारायण भगत, पूर्वमन्त्री मातृका यादव, प्रधानमन्त्रीका प्रमूख स्वकीय सचिव जोखबहादुर महरा, व्यवस्थापिका—संसदका सदस्यहरु लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमका वक्ताहरुले द्रुत मार्ग नेपालकै राष्ट्रिय गौरवको आयोजना भएकोमा जोड दिँदै हाम्रै पालामा आयोजना सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा काठमाडौं—निजगढ द्रुत मार्गका आयोजना प्रमूख सतेन्द्र शाक्यले आयोजनाको प्रगति र समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो भने निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलका आयोजना प्रमूख हरि अधिकारीले बिमानस्थलको प्रगति अवस्थाबारे जानकारी गराउनु भएको थियो । फास्ट ट्रयाक नेपाल आफै शिघ्र सञ्चालन गर्न र बिमानस्थल शिघ्र निर्माण गर्न दवाव दिन फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल संघर्ष समितिले १०० दिने रिले अनसन लगायतका दवावका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

निर्माणाधीन निजगढ—काठमाडौं द्रुत मार्ग र निजगढ बिमानस्थलको स्थलगत निरीक्षणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गर्नुभएको मन्तव्यका मूख्य बुँदाहरुः
— रिले अनसनमा बस्नुभएका युवा साथीहरुलाई नेपाल सरकार र मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । विकास निर्माणका काममा जनताको जागरुकता पैदा भएको छ । युवाहरुले पहलकदमी लिनुभएको छ । केही समयअघि युवाहरु पैदल यात्रा गर्दै काठमाडौं पुग्नुभएको थियो, मलाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।
— फास्ट ट्रयाकबारे केही अन्यौल थिए । फास्ट ट्रयाक नेपालले नै बनाउने निर्णय गरिएको छ । फास्ट ट्रयाकको मोडालिटी निर्माण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा समिति बनाइएको छ । समितिलाई फास्ट ट्रयाकको मोडालिटी र आर्थिक व्यवस्थापनबारे सुझाव दिन भनिएको छ । समितिले काम गरिरहेको छ । एक हप्ताभित्र समितिले प्रतिवेदन बुझाउने छ र सरकारले निर्माण कार्यलाई अगाडि बढाउने छ । यो आयोजना मेरै कार्यकालमा मेरै हातबाट शिलान्यास हुन्छ ।
— एकाध महिनाभित्र नै मेरो नेतृत्वमा मैले नै शिलान्यास गर्ने गरी काठमाडौं—निजगढ द्रुत मार्गको तयारी भइरहेको छ । मैले सरकारको नेतृत्व सम्हालेदेखि नै राष्ट्रिय गौरवका आयोजनाहरुको नियमित निरीक्षण र अनुगमन गरिरहेको छु । समयमै विकासका काम सम्पन्न गर्न मेरो विशेष जोड छ ।
— रिले अनसनमा बसेका साथीहरुलाई विशेष धन्यवाद छ । तपाईहरुले विकासका निम्ति देखाउनु भएको जागरुकताका लागि सरकार आभार प्रकट गर्न चाहन्छु । अब तपाईहरुले रिले अनसन बसिरहनु जरुरी छैन, हामी प्रतिवेदन आउनेबित्तिकै आयोजनाको काम अगाडि बढाउँछौं, तपाईहरुले खवरदारी गरे मात्रै पुग्छ ।
— निजगढ बिमानस्थल क्षेत्रभित्र पर्ने बासिन्दाको बैकल्पिक बसोबास र व्यवस्थापन गर्न सरकार गम्भीर छ । चार किल्लाभित्रको जग्गा अधिग्रहणका लागि प्रतिवेदन पेश गर्ने समिति बनिसकेका छन् । जनताले उठाएका जायज माग र मुद्दाहरुको सम्बोधन गरेर हामी बिमानस्थलको कामलाई थप तिब्रता दिनेछौं ।
— मेरै नेतृत्वमा मेरै कार्यकालमा फास्ट ट्रयाकको शिलान्यास हुन्छ । फास्ट ट्रयाक र बिमानस्थल दुवै राष्ट्रिय गौरवका आयोजनाहरु हुन् । यी आयोजना सम्पन्न हुँदा देशकै विकास र समृद्धिमा गुणात्मक अर्थ राख्दछन् । यसमा सरकार सचेत र गम्भीर छ ।
— सुकुम्बासी समस्याबारे सरकार गम्भीर छ । सुकुम्बासी समस्या सम्बोधन गर्न सरकारले नीति र कार्यक्रमको तयारी गरिरहेको छ । सुकुम्बासी समस्यालाई दीर्घकालीन रुपमा सम्बोधन हुने गरी केही दिनमा ठोस कार्यक्रम सार्वजनिक गरिनेछ ।
— मैले भारतको गोवा भ्रमणका बेला पनि हुलाकी राजमार्गका बारेमा भारतीय प्रधानमन्त्रीसँग गम्भीर रुपमा कुरा गरेको छु । हुलाकी राजमार्ग अगाडि बढ्छ । छिमेकीसँगको सन्तुलित सम्बन्धका आधारमा सरकारले विकासका कामलाई तिब्रता दिनेछ ।