Durga Lal KC
दुर्गालाल केसी

२०७२ बैशाख ५ गते बिहानै झोला बोकेर हिड्नै थालेको थिएँ । श्रीमती बिमलाले एकाएक रोकिन्,‘अहँ, आज शनिबार नजानुहोस् । भोलि गए हुन्छ । त्यस्तो जोखिमपूर्ण ठाउँमा जाने, त्यो पनि शनिबार ।’ म रोकिने पक्षमा थिइनँ किनकि कान्तिपुरले आज नै हिड्न भनेको थियो । मैले उनलाई सम्झाउन खोजें, ‘आज जानैपर्छ । प्रकोप बढिरहेको छ । छिटो रिपोर्टिङ गर्नुपर्छ ।’ म हिड्नै खोजेपछि उनी डाँको छोडेर रोइन् ।

सक्रिय पत्रकारिता जीवनका १५ बर्षमा कतै रिपोर्टिङ गर्न जाँदा परिवारका सदस्य रोएको यो पहिलो दिन थियो । यसअघि पनि म पटक–पटक जोखिम मोलेर निकै विकट ठाउँहरुमा धेरैपटक फिल्ड रिपोर्टिङमा गइसकेको थिएँ । अधिकांश ठाउँहरुमा बिमला आफैले प्रोत्साहन गरेर पठाउँथिन् तर यतिबेला उनी एकाएक रोएको देखेपछि मलाई लाग्यो शायद म नफर्कने गरी जाँदैछु । बाहिर निस्कें । आमालाई जाजरकोट जान थालेको जानकारी गराएँ । उहाँ पनि मलाई पठाउन तयार हुनुभएन । संयोगले त्यस दिन आमाको मुख हेर्ने दिन रहेछ । म सधैं आमासँगै बसिरहेकाले मेरा लागि त्यो दिन कुनै छुट्टै महत्वको थिएन । दिनरात आमाको मुख हेर्न पाइएकै थियो तर पनि मलाई बिस्तारै नरमाइलो लाग्दै गयो । अगाडि बढिसकेका पाइलाहरु पछि सार्नु कि अझै अघि बढाउनु भन्ने अन्योलमा परें । म केहीबेर अनिर्णयको बन्दी भएँ । ठूलो संकट प¥यो ।

jajarkotएकातिर ज्यानको जोखिम मोलेर जानुपर्ने त्यो पनि शनिबार, आमाको मुख हेर्ने दिन । बिमलाको आँसु, आमाको अँध्यारो अनुहार र जाजरकोटको जोखिम सम्झेपछि म झोला बिसाउन बाध्य भएँ । म रोकिन बाध्य भएँ । अब मलाई झनै संकट प¥यो । कान्तिपुरले बिहानै हिडेर जसरी पनि जाजरकोट पुग् भनेको थियो । जाजरकोटका कान्तिपुरकर्मी साथी फिल्डमा पुग्न नसक्दा गाउँ–गाउँमा महामारीका रुपमा फैलिरहेको स्वाइनफ्लुको रिपोर्टिङ चित्तबुझ्दो तरिकाले आउन सकिरहेको थिएन । जिल्ला रिपोर्टरबाट फिल्ड रिपोर्टिङ सम्भव नभएपछि कान्तिपुरले छिमेकी जिल्लाका संवाद्दाता, क्षेत्रीय व्यूरो र डेस्कमै स्वास्थ्य बिटका साथीहरुलाई अनुरोध गर्दा पनि सम्भव नभएपछि अन्तमा मलाई भनेको थियो ।

Jajarkot Field Reporting 2फिल्ड रिपोर्टिङ भनेपछि मेरा रौं ठाडा भैहाल्छन् । कान्तिपुरका सम्पादकलाई यो कुरा थाहा थियो । त्यसकारण अब यसले प्रस्ताव अस्विकार गर्न सक्दैन भनेर अन्तमा मलाई अनुरोध गरेका थिए । यति भएपछि मैले पनि ईन्कार गर्ने कुरा आएन । म फिल्ड रिपोर्टिङमा रमाउने भएकाले जति नै जोखिम भए पनि जानु नै थियो । जान सहमत भइसकेपछि अब मलाई ठूलो संकट प¥यो । कान्तिपुरले अरु साथीहरु जान नमानिरहेको जोखिमपूर्ण ठाउँमा मलाई नै पठाउनुलाई मैले अवसर र चुनौतीका रुपमा लिएँ । मैले पटक–पटक भन्ने पनि गरेको छु पत्रकारिता चुनौती र अवसरको पेशा हो । यहाँ जति धेरै चुनौती छन् त्यति धेरै अवसर पनि । एकातिर यो चुनौतीसँग सामना गरेर रिपोर्टिङ सम्पन्न गर्न सकें भने पत्रकारितामा मैले ठूलो विजय हाँसिल गर्न सक्थें । अर्कोतिर दिनदिनै स्वाइनफ्लुबाट धमाधम मानिसहरुको मृत्यु भइरहेको थियो । स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएर उपचारका लागि काठमाडौं लगिएको थियो । गाउँ जान कोही मानिरहेको थिएन । आफै संक्रमित भएर ज्यान जाने खतरा त्यत्तिकै थियो ।

अब एक दिन घरमै बसेर परिवारलाई कन्भिन्स गर्ने योजना बनाएँ । जाजरकोटको यात्रा एक दिनका लागि पछि सारें । क्षेत्रीय व्युरो प्रमुख जनक नेपाल र जिल्ला व्युरो प्रमुख गंगा बिसीलाई यात्रा पछि सारेको जानकारी गराएँ । त्यस दिन दिनभर सँगै जाने कोही साथी भेटिन्छ कि भनेर धेरै साथीहरुसँग सम्पर्क गरें । कोही पनि जान तयार भएन बरु धेरैले नजाँदा नै राम्रो हुन्छ भन्ने सल्लाह दिए ।

Jajarkot Field Reporting 3अन्तमा एक्लै मोटरसाइकल लिएर जाने निधो गरें । घरमा बिमला र आमाबुवाको चिन्ता त यथावत नै थियो । अब म जे गरे पनि रोकिनेवाला थिएन । भोलिपल्ट बिहानै हिड्ने निर्णय गरें । रातभर निद्रा परेन, अनेकथरी सोचाइहरु आउन थाले । सरकारले जाजरकोटमा स्वाइनफ्लु भएको प्रमाणित गरिसकेको थियो । दिनहूँ मृत्यु हुनेको संख्या थपिदै थियो । जाजरकोटमा भएका मानिसहरु तराईतिर झर्दै थिए ।

स्वाइनफ्लुले काठमाडौंमा समेत हुनेखाने मानिसहरु मरिरहेका थिए । देशको राजधानीमा उपचार पाउँदा–पाउँदै सम्पन्न मानिसहरुले ज्यान गुमाइरहेको बेला जाजरकोटका विकट गाउँहरुमा प्रवेश गर्ने कुरा निकै दुस्साहसपूर्ण थियो । स्वास्थ्यकर्मी समेत बिरामी भएर फर्किरहेका थिए । दिनदिनै संक्रमण बढेका खबर आइरहेका थिए, शहर बजारमा यसको त्रास बढ्दै थियो । जाजरकोटका मानिससँग भेट भयो भने रोग सर्छ कि भन्ने चिन्ता सर्वत्र थियो । यस्तो बेलामा म जाजरकोट प्रवेश गर्दै थिएँ ।

Jajarkot Field Reporting 4अघिल्लो दिन मात्रै दाङको बाढी प्रभावित क्षेत्र पुरन्धाराको गंगटेमा रिपोर्टिङ गरेर फर्कने क्रममा बाटोमा लडेर बायाँ खुट्टाको गोली गाँठोमा चोट लागेको थियो । खुट्टा दुखिरहेको थियो । एक्लै मोटरसाइकलमा जाजरकोट पुगेर पैदल गाउँतिर हिड्नु थियो तैपनि जे त होला भनेर मैले बिहानै मोटरसाइकल बटारें । सल्यानको थारमारेबाट चौरपानी हुँदै भल्चौरको लेक काटेर बडाचौर हुँदै रुकुमको चौरजहारी पुगें । बाटो निकै कठिन थियो । हिलो, धुलो, खाल्डा, ढुंगा । बाटोमा कति ठाउँमा त मोटरसाइकल नै ढल्यो । लड्दै, पछारिदै चौरजहारीबाट केही पूर्व लागेर मटेलाको झोलुंगे पुल पार गरेर जाजरकोटतिर उकालो लागें ।

Jajarkot Field Reporting 5सदरमुकाम खलंगा पुग्नेबित्तिकै जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बस्न थालेको थाहा पाएँ । तत्काल जिल्ला विकास समितिको हलतिर उकालो चढें । बैठकमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धिरजंग शाह महामारी प्रभावित क्षेत्रको अवस्था, स्वास्थ्यकर्मीहरुको परिचालन र थप कदमबारे जानकारी गराउँदै थिए । प्रभावित पैंक गाविसमा उपचार गरी फर्केका जिल्ला अस्पतालका डा. दिपक पुनले मृतकको विवरण पढेर सुनाइरहेका थिए । प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत र स्थानीय विकास अधिकारी दिर्घबहादुर पोखरेलले थप स्वास्थ्यकर्मी कहाँ पठाउनेबारे छलफल गर्दै थिए । नेपाली सेना, प्रहरी, राजनीतिक दल, पत्रकार र अन्य सरोकारवालाहरु पनि बिभिन्न सुझाव दिइरहेका थिए ।

Jajarkot Field Reporting 1 (1)जिल्लाको समग्र अवस्था बुझिसकेपछि भोलिपल्ट बिहानै प्रभावित गाविसहरुमा पैदल यात्रा थाल्ने तयारी गरियो । दाङबाट जाजरकोटसम्म एक्लै पुगे पनि अब गाउँमा एकजना साथी लिएर जाऔं भनेको कसैले जानै मानेनन् । सबै पत्रकार साथीहरु भन्दै थिए– तपाईं जोखिम मोल्दै हुनुहुन्छ । जति नै जोखिम भए पनि मलाई खलंगाबाट फर्कनु थिएन । जति दिन हिड्नु परे पनि, जे–जे परिणाम निस्के पनि म प्रभावित गाउँहरुसम्म पुगेर यथार्थ विवरण संकलन गर्नु थियो । अन्तमा जाजरकोट सहकर्मी भीमबहादुर सिंहले आफ्ना भान्ज बद्री पन्तलाई साथी बनाइदिनुभयो ।

बैशाख ७ गते बिहानै पाँचकटियासम्म मोटरसाइकलमा पुगेपछि पैदल यात्रा थालियो । दिनभर हिडेर बेलुकातिर प्रभावित गाविस पजारु पुगियो । बाटोमा बिरामीहरु भेटिन्थे । अधिकांशले औषधी छ कि भनेर सोधिरहेका थिए । कतिलाई बद्री भाइले सिटामोल बाँड्दै हिड्थे । बिरामीहरु औषधीको आशमा पर्खिरहेका देखिन्थे ।

Jajarkot Field Reporting 6पजारुको स्याँक्री गाउँ जान उकालो चढ्दै गर्दा स्थानीय ६२ बर्षीय दलवीर रावत हस्याङफस्याङ गर्दै ओरालो झर्दै थिए । उनी बिरामी रहेछन् । ‘माथि गाउँमा डाक्टर आएका छन् भनेर जँचाउन गएको त भेटै भएन । डाक्टर एकछिन आएर गइसकेछन्,’ उनले भने, ‘बिरामी आउँदासम्म कुर्नुप¥यो नि । एकछिन आएर गएपछि कसरी जँचाउने ? गाउँ टाढा छ, बिरामी आउन समय लाग्छ । यी डाक्टरले किन कुरा नबुझेका होलान् ?’
स्याँक्रीपछि प्रकोपले बढी प्रभावित गाविस टालेगाउँतर्फ लागियो । हरेकजसो घरमा बिरामी थिए । स्वाइनफ्लुले मरिन्छ कि भन्ने त्रास त्यत्तिकै थियो । हिड्न सक्नेहरुले चेकजाँच गराएर औषधी खाएका थिए भने नसक्नेहरु घरमै थलिएका थिए । ‘म एक्लै लट्ठी टेक्दै बल्ल बल्ल जँचाउन स्वास्थ्य चौकीसम्म आएँ,’ टालेगाउँ–८ सौरेनीकी ४५ बर्षीया मनसरा शाहीले भनिन्, ‘घरमा अरु सात जना बिरामी भएर थलिएका छन् । सबै बिरामी भएपछि कसले बोकेर ल्याउनु ? उपचार नपाएरै मर्ने भए ।’ उनले टालेगाउँका ६, ७, ८ र ९ नं. वडाका हरेक घरमा बिरामी रहेको बताइन् ।

Jajarkot Field Reporting 10यति गर्दागर्दै रात पर्न लागिसकेको थियो । बास बस्ने केही टुंगो थिएन । सबैतिर बिरामी भएकाले कता बास बस्नु ? संक्रमणको जोखिम छँदै थियो । गाउँघरमा सामान्यतया नयाँ मानिसलाई पाहुनाका रुपमा स्वागत गर्ने चलन हुन्छ तर यतिबेला कोही पाहुना मान्ने अवस्थामा थिएनन् । सबै स्वाइनफ्लुको त्रासमा थिए । नयाँ मान्छेबाट रोग सर्छ कि भन्ने त्रास थियो । टालेगाउँकै सिरानमा पुगेपछि पूर्व गाविस अध्यक्ष तप्तबहादुर सिंहको घरमा बास बस्न पाइने भयो । स्वास्थ्य चौकी ईञ्चार्ज पेम्वा दोर्जे लामा सुतेको कोठामा हामीले सुत्न पाउने भयौं । उनी अर्कै घरमा सुत्न गए ।

Jajarkot Field Reporting 7नजिकै जंगल, चिसो पानी । प्राकृतिक रुपले स्वच्छ हुनुपर्ने यो ठाउँ सोचेजस्तो थिएन । जताततै झिंगैझिंगा । रातभर झिंगाले भ्वाँ भ्वाँ गरेर सुत्नै नदिने । त्यो अवस्था देखेपछि लाग्यो, संक्रमणको कारण यही होला । पूर्व गाविस अध्यक्ष सिंह भन्दै थिए, ‘यहाँ झिंगा मार्ने अभियान नै चलाउनुपर्छ । झिंगाको आतंक नै छ । यिनै हुन् रोग फैलाउने । जति मार्दा पनि सकिदैनन् ।’ झिंगा मार्नेभन्दा झिंगा नै फैलन नदिने प्रयास जरुरी छ यहाँ । फोहोरको अन्त्य गर्नसके झिंगा पनि हट्थे होला ।

स्वास्थ्य चौकी ईञ्चार्ज लामा पनि बिरामीको चाप देखेर साह्रै विचलित भइसकेका रहेछन् । ‘म त अब जागिर पनि खाँदैन । छोडेर जान्छु भन्ने भइसकेको थिएँ । साह्रै निरास भएँ,’ उनले भने, ‘दिनमा १ सय ६० जनासम्म बिरामी हेर्नुपरेको छ । खाना खान पनि पाइदैन । जोखिम मोलेर कसरी बस्नु ?’ स्वास्थ्य चौकी पैंकका ईञ्चार्ज रामचन्द्र गिरीलाई स्वाइनफ्लु भएको सुनेपछि उनी बढी नै विचलित भएका रहेछन् । हामी गएकै दिन नेपाली सेनाको हेलिकोप्टरले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का डा. कृष्णगोपाल महर्जन नेतृत्वको ६ जनाको स्वास्थ्यकर्मी टोली छोडेपछि लामा फेरि उत्साहित भएर गाउँमा खट्ने निधोमा पुगे ।

भोलिपल्ट बिहानैदेखि स्वास्थ्य चौकीमा शिविर चल्यो । टाढाका सिकिस्त बिरामीहरुलाई बोकेर भए पनि चेकजाँच गर्न ल्याइयो । कतिपयका घरमा बोक्ने कोही नभएकाले घरमै पल्टिरहेका रहेछन् । उक्त समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको टोली ७ र ८ नं. वडामै पुगेर २ सय १२ बिरामीको चेकजाँच ग¥यो । विकट गाउँको पैदल यात्रा । फोहोर पानी, झिंगाको आतंक । हिड्दाहिड्दै ज्यान बिरामी नै प¥यो । पहिलो दिनदेखि रुघाखोकीले च्याप्यो । संक्रमण भयो कि भन्ने डर लाग्न थाल्यो । डाक्टरलाई चेक गराएर केही औषधी खाएँ । अर्को दिन झाडापखालाले भेट्यो । यही बिरामी अवस्थामा पनि विकट गाउँको यात्रा जारी नै रह्यो ।

टालेगाउँस्थित मान्नेढुंगा उच्च माविमा भएको एसएलसी परीक्षा केन्द्रबाट प्रकोप फैलिएको रहेछ । अर्छानी र पैंक गाविसका सबै विद्यार्थीको परीक्षा केन्द्र भएकाले त्यतिबेला टालेगाउँमा यस क्षेत्रका विद्यार्थी र अभिभावकको चाप बढ्यो । त्यसमध्ये एक्जाम्टेड परीक्षा दिन आएका अधिकांश विद्यार्थी भारतमा कमाउन गएर फर्केका थिए । साथमा आएका अभिभावक पनि भारतबाट आएका थिए । एसएलसी चलिरहेकै बेला विद्यार्थीहरु बिरामी हुन शुरु भएको थियो । विद्यार्थी गाउँमा फर्केपछि सबैतिर प्रकोप फैलिएको रहेछ ।

Jajarkot Field Reporting 8टालेगाउँपछि अर्को प्रभावित गाविस अर्छानी पुगियो । त्यहाँ पनि बिरामीको अवस्था उस्तै । कतिपय एसएलसी दिएका विद्यार्थी बिरामी भएर सुतेको सुत्यै थिए । कतिपय औषधी पाइन्छ कि भन्दै नयाँ मान्छे देख्नेबित्तिकै हात थाप्थे । विकट गाउँका बिरामीले उपचार नपाएको रिपोर्टिङ भएपछि थप स्वास्थ्य शिविरहरु स्थापना गरियो । समयमै स्वास्थ्यकर्मी पुगेको ठाउँमा धेरै बिरामी मृत्युको मुखबाट बचेका रहेछन् । मर्नेहरु अधिकांश स्वास्थ्यकर्मीको सम्पर्कमै नआएकाहरु थिए ।

Jajarkot Field Reporting 9

म फिल्डमा घुम्दाघुम्दै २७ जनाको ज्यान गइसकेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयले यसलाई सामान्य समस्या भन्दै टारिरहेको थियो । मैले त्यहाँबाट डाँडाकाँडा चढ्दै बल्लबल्ल समाचार पठाएँ । कान्तिपुरमा दिनहुँ पहिलो समाचार छापियो । लगातार समाचारमार्फत् दबाब सिर्जना भएपछि १५ ठाउँमा स्वास्थ्य शिविर स्थापना भए । यसअघि कहिल्यै डाक्टर नपुगेका गाउँमा ३५ डाक्टरसहित २ सय बढी स्वास्थ्यकर्मी खटिए । प्रकोप बिस्तारै नियन्त्रणमा आउन थाल्यो । मानिसहरु मर्ने क्रम रोकिन थाल्यो । मलाई जाजरकोटका विकट गाउँमा पुगेर त्यहाँका जनताका कथा व्यथाहरु लेख्न पाएकोमा आत्म सन्तुष्टि मिल्यो । जीवनमा पहिलोपटक डाक्टर देखेर चेकजाँच गराउने अवसर पाएका मानिसहरु देख्दा मनमा उमंग आयो । जुम्लासँग सिमा जोडिएका यी गाउँमा एक हप्तासम्म रहेर नियमित रिपोर्टिङ गरिरहें । फिल्ड रिपोर्टिङका क्रममा भोगेका कठिनाइ र जोखिमहरुलाई जाजरकोटका गाउँमा छाउन थालेको खुशीले मत्थर गर्दै लग्यो । अन्तमा म पनि जिउँदै घर फर्कें ।