घोराही, २० माघ । मानवअधिकार निगरानी समूह सौडियारले आगामी असारसम्म गर्ने कार्यक्रमको योजना तयार गरेको छ । दुइदिनसम्म चलेको समूहका पदाधिकारी तथा सरोकारवालाहरुको भेलाले विभिन्न ६ वटा कार्यक्रम तय गरेको हो ।
मानवअधिकार निगरानी समूह सौडियारका अध्यक्ष जगविर चौधरीको अध्यक्षता तथा जिल्ला स्तरिय मानवअधिकार निगरानी समूहका अध्यक्ष केशवकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको भेलाले गाविसमा खाद्यअधिकारलाई सुरक्षित गर्न जैविक विषादी उत्पादन गर्ने तालिम सञ्चालन गर्ने र त्यसकालागि विषयगत सरकारी कार्यालयमा अनुरोध गर्ने, वेमौसमी तरकारी खेति तालिम, पशुस्वास्थ्य शिविर, माटो परिक्षण, शिक्षामा सवैको पहुँच बढाउन विद्यालय भर्ना अभियान सञ्चालन, विद्यालय भेटघाट कार्यक्रम गर्ने योजना तयार गरेको इन्सेक जिल्ला सहजकर्ता शालिकराम मुसाफिरले जानकारी दिए ।
सो अवसरमा मावि जजरागाउँका शिक्षक धु्रवराज अधिकारी, मावि रावतगाउँका शिक्षक रामहरी आचार्य, इन्सेक जिल्ला प्रतिनिधी जे.एन.सागर, निगरानी समूहका सल्लाहकार थुरेन्द्र वलीलगायतले बोलेका थिए । इन्सेकले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) कार्यक्रम तीनवर्षकालागि सञ्चालन गरेपछि गठन गरिएको निगरानी समूहले आफनो कार्यक्रम तयार गरेको हो ।
