काठमाडौं, १० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन घोषणा गर्नका लागि निर्वाचन आयोगको तयारीबारे परामर्श गरेका छन् । आज प्रधानमन्त्री प्रचण्डले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग निर्वाचनबारेमा परामर्श गरेका हुन् ।
यादवलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा नै बोलाएर प्रचण्डले निर्वाचन घोषणा गर्नेबारेमा छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारले चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको भन्दै जेठ १५ सम्म निर्वाचन गर्न सकिने नसकिनेबारेमा प्रचण्डले यादवसँग राय मागेका थिए ।
सरकारले आगमी असार अघि नै निर्वाचन गर्न नसकिए वर्षा लाग्ने र त्यसपछि चाडवाडको समय आउने भएकाले जेठभित्रै निर्वाचन गर्ने तयारी गरेको छ ।
प्रचण्डले सरकार चाँडै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको उल्लेख भन्दै आयोगको परामर्शमा निर्वाचन घोषणा गर्न लागेका हुन् ।
तीन दलबीच स्थानीय तहको निर्वाचन गर्नेबारेमा सहमति भइसकेकोले निर्वाचन गर्न सकिने नसकिने बारेमा यादवसँग छलफल गरेका हुन् । मधेसी मोर्चासँग पनि छिट्टै नै सहमति जुटाउने पनि प्रचण्डले आयुक्त यादवलाई जानकारी गराएका थिए ।
प्रमुख निर्वाचन आयुक्त यादवले सम्पूर्ण पूर्वाधार तयार भइसकेपछि निर्वाचनको तयारीका लागि आयोगलाई चार महिनाको समय चाहिने बताएका थिए ।
