इन्द्रेणी संवाददाता
दाङ, १५ चैत । एकीकृत नेकपा माओवादीले ५ नम्बर प्रदेशको पहिलो सम्मेलन दाङमा गर्ने भएको छ । एमाओवादी ५ नम्बर प्रदेशको सोमवार घोराहीमा बसेको बैठकले प्रथम प्रदेश सम्मेलन भदौ ३, ४ र ५ गते प्रदेश सम्मेलन दाङमा गर्ने निर्णय गरेको हो ।
पार्टी स्थायी समिति सदस्य एवं ५ नम्बर प्रदेश इञ्चार्ज चक्रपाणी खनालको अध्यक्षता एवं सचिव बर्षमान पुनको प्रमुख आतिथ्यमा बसेको बैठक सञ्चालन पोलिटब्यूरो सदस्य एवं प्रदेश सेक्रेटरी जगप्रसाद शर्मा ‘अपार’ले गर्नुभएको थियो ।
बैठकले सबै जिल्लाहरुमा विकास सम्मेलन गर्ने निर्णय गरेको छ । जिल्लाको समग्र विकासको गुरुयोजना बनाएर यसमा सर्बपक्षीय सहमति जुटाउने उद्देश्यसहित सम्बद्ध सरोकारवालाहरुको सहभागितामा विकास सम्मेलन गर्ने निर्णय गरेको एमाओवादी ५ नम्बर प्रदेश समिति सदस्य निर्मल आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिल्ला सम्मेलनको मिति पनि तय गरेको छ । जसअनुसार जेठ २५ र २६ गते बर्दिया, ३० र ३१ गते दाङ, असार २ र ३ गते कपिलवस्तु, ४ र ५ नलवपरासी, ८ र ९ गते पाल्पा, ११ र १२ गते गुल्मी, १४ र १५ गते अर्घाखाँची, १७ र १८ गते प्युठान, २० र २१ गते रोल्पा तथा २३ र २४ गते बाँकेमा जिल्ला सम्मेलन हुने आचार्यले जानकारी दिनुभयो ।
जिल्ला सम्मेलनका लागि बैठकले तीनवटा शर्त तोकेको छ । ‘सम्मेलनअघि पार्टी सदस्यता नवीकरक गरिसक्ने, वडा गाउँ र नगर सम्मेलन गरिसक्ने र पार्टी कार्यालय भवन निर्माणका लागि न्यूनतम पूर्वाधार तयार गरिसक्ने र हरेक जिल्लामा विकास सम्मेलन गरिसक्ने शर्त बैठकले तय गरेको छ’– प्रदेश सदस्य आचार्यले जानकारी दिनुभयो ।
