इन्द्रेणी संवाददाता
दाङ, ५ माघ । पछिल्लो समयमा दाङमा श्रीमान÷श्रीमतीको नाममा सयुक्त जग्गाधनी पूर्जा बनाउने क्रम वढ्दै गएको छ । यो सँगै परम्परागत रुपमा चल्दै आएको सम्पत्तिमा पुरुषको एकाधिकार तोडिदैछ ।
सयुक्त जग्गधनी पूर्जा बनाएका दम्पत्तीलाई समान गरिदै । फाइल फोटो
दाङमा एक वर्षको अवधिमा दाङमा ३७ दम्पतीले संयुक्त रुपमा जग्गाधनी पूर्जा बनाएका छन् । सम्पत्तिमा श्रीमान–श्रीमतीको समान हक स्थापित गर्ने उद्देश्यले एक वर्ष पहिलेदेखि सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत दाङमा ३७ दम्पतीले ६ बिघा १८ कठ्ठा दश धुर जमिनको संयुक्त जग्गाधनी पूर्जा बनाएको जिल्ला भूमिसुधार अधिकार मञ्चले बताएको छ ।
सम्पत्तिमा श्रीमान वा श्रीमतीमध्ये एकको नाममा हुँदा सम्पत्ति नाममा हुने व्यक्तिले नहुनेलाई हेलासँगै एक्ले बेच्न सक्ने भएकाले सम्पत्तिमा समान अधिकारसँग सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान प्रभावकारी नभएको मञ्चले जनाएको छ ।
जिल्लामा तीनसय दम्पतीको सम्पत्तिमा समान अधिकार स्थापित गर्ने लक्ष्य रहेपनि एक वर्षको अवधिमा जिल्ला जम्मा ३७ दम्पतीको नाममा मात्र भएको मञ्चका कार्यक्रम संयोजक रेवन्त चौधरीले जानकारी दिए । बाहिरी जिल्लाहरुमा सम्पत्तिमा समान अधिकारअन्तर्गत संयुक्त जग्गाधनी पूर्जामा रुचि देखिए पनि दाङ जिल्लामा भने नदेखिएको उनले बताए ।
त्यस्तै मोही जग्गा बाँडफाँडका लागि निवेदन दिनेमा समेत मोही किसानहरुले इच्छा देखाएका छैनन् । मोही जग्गामा हबदाबीसहित सम्बन्धित जिल्लाको भूमिसुधार कार्यालयमा निवेदन दिन आग्रह गरेको पाँच महिनाको अवधिमा ६० जना मोही किसानहरुले जग्गामा हकदाबीसहित नामसारीका लागि निवदेन दिएका छन् ।
