इन्द्रेणी संवादता
घोराही, १४ जेठ ।
प्रगतिवादी साहित्यकार कृृष्ण सेन इच्छुकको १४ औं स्मृति दिवसका अवसरमा आज शुक्रबार प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले घोरामीमा कार्यक्रम गरेको छ । प्रलेस दाङका अध्यक्ष शरद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले कृष्ण सेनले साहित्यका माध्यमबाट पुराएको योगदानको चर्चा गरेका थिए ।
कृष्ण सेनले लेख्नुभएको साहित्य विश्व साहित्यमा तुलना गर्न मिल्ने खालको रहेको भन्दै नेपालीमा रहेका उहाँ कृतिलाई अनुवाद गरेर विश्व साहित्य पुराउनुपर्ने विचार बक्ताहरुको थियो । कार्यक्रममा बोल्दै प्रलेसका केन्द्रीय सदस्य प्रमोद धितालले सेनले गरेको योगदानलाई चिरस्थायी बनाउनका लागि बाँचेकाहरुले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले सेनको आदर्श प्रतिको संवेदनशिलता हराउँदै गएकोमा चिन्ता प्रकट गदै नेपालमा बुर्जुवाहरुसंग टक्कर लिन सक्ने साहित्यकारको नाम लिनुपर्दा कृष्ण सेनको नाम अग्रपङ्तीमा आउने बताउनुभयो । सोही कार्यक्रममा राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष पुरुषोक्तम खनालले कृष्ण सेनको नाममा खुलेको प्रतिष्ठानले काम गरेका वा नगरेको बारेमा खोजि गर्नुपर्ने बताउनुभयो । उहाँले साहित्यकार सेनको योगदानलाई कसैले पनि भूल्न नहुने विचार राख्नुभयो ।
त्यस्तैगरी छलफल चौतारीका संयोजक एवं प्रेस स्वतन्त्रता सेनानी शुशिल गौतमले सेनले नेपाली साहित्यमा पुराएको योगदानको अझै उचित कदर हुन नसकेकोमा गुनासो गर्नुभयो । उहाँले दाङको लमही घोराही सडकलाई कृष्ण सेनमार्ग नामाकरण गरिएको भएपनि व्यवहारिक कार्यान्वयन नगरिएकोमा गुनासो गर्नुभयो ।
कार्यक्रममा प्रलेस दाङका पूर्व अध्यक्ष तथा राष्ट्रिय परिषद सदस्य केशव थापा, साहित्यकार देवि पोख्रेल, महेन्द्र महक लगायतले सेनले नेपाली साहित्यमा पुराएको योगदानको चर्चा गर्नुभएको थियो । प्रलेस दाङका सचिव खगेश्वर भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत प्रलेस दाङका उपाध्यक्ष डिल्ली मल्लले गर्नुभएको थियो ।।