उदय बीसी
दाङ, ४ माघ । मौसमको पूर्वजानकारी दिन दाङका किसानलाई ‘किसान सिमकार्ड’ वितरण गरिँदै छ । जिल्लामा सञ्चालित जलवायु समुत्थान निर्माण परियोजनाअन्तर्गत मोबाइलमै किसानलाई कृषिसम्बन्धी जानकारी एवम् मौसमको पूर्वजानकारीका लागि मोबाइल सिमकार्ड वितरण गर्न लागिएको हो ।

Untitled-1 copy‘कृषिसम्बन्धी गतिविधि र बदलिँदो मौसमको पूर्वजानकारी दिने उद्देश्यले यो सिमकार्ड वितरण गर्न लागिएको हो,’ परियोजना अधिकृत डा. अन्नत कोइरालाले भने, ‘यो व्यावसायिक किसानहरूका लागि मात्रै हो ।’

नेपालका विभिन्न २५ जिल्ला यो परियोजना सञ्चालनका लागि छनोट गरिएका छन् । तीमध्ये ११ ओटा जिल्लामा यो कार्यक्रम शुरू भइसकेका छन् । साथै, बाँकी जिल्लामा सञ्चालनको तयारी भइरहेकाले यस वर्षदेखि दाङमा पनि उक्त सुविधा विस्तार हुने कोइरालाले बताए । दाङसहित २५ जिल्लाका लागि ५५ हजार किसान सिमकार्ड वितरण गर्ने तयारी भइरहेको छ ।

दाङमा नेपाल टेलिकमसँगको समन्वयमा किसान सिमकार्ड वितरण गरिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख दीपककुमार शर्माले जानकारी दिए ।

यो सिमकार्डबाट किसानले कृषिका साथै मौसमसम्बन्धी जानकारी पाउनेछन् । यो प्रविधिबाट मौसम खराब हुने वा राम्रो हुने करीब १ साताअघि नै जानकारी आउने र त्यसैअनुसार किसानलाई सजगता र पूर्वतयारीका लागि सजिलो हुने कृषि कार्यालयले बताएको छ ।

जिल्लामा पहिलोपटक भित्रिएको यो प्रविधि सम्बन्धित निकायले साँच्चिकै किसानमुखी बनाउन सक्यो भने यहाँको कृषि व्यवसायमा सघाउ पुग्ने दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष हेमराज बञ्जाडेले बताए ।