दाङ, २६ पुस । दाङको घोराही नगरपालिका–२ मघै गाउँका महिला पछिल्लो समयमा व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । उनीहरू गाउँमै समूह गठन गरी व्यावसायिक च्याउखेतीमा जुटेका हुन् । कोपिला कृषि महिला समूहअन्तर्गत गरिएको च्याउखेतीबाट महिलाले मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् ।

20170103102113_clipboard18‘च्याउखेतीबाट राम्रो आम्दानी भएको छ, विक्रीका लागि बजारको खोजी गर्नुपर्ने वाध्यता छैन,’ समूहकी अध्यक्ष कैलासी चौधरीले भनिन्, ‘च्याउ खोज्न ग्राहक गाउँमै आउँछन् ।’ समूहमा २२ जना रहेको र सबैको हातेमालोबाट च्याउ उत्पादन गर्दै आएको उनले बताइन् ।

समूहबाट दैनिक १२ केजीभन्दा बढी च्याउ विक्री हुँदै आएको छ । शुरूमा ५ जनाको लगानीबाट शुरू गरेको च्याउखेती फस्टाउदै गएको समूहले बताएको छ । प्रतिकिलो २ सय रुपैयाँमा च्याउ विक्री गर्दै आएको कोपिला कृषि महिला समूहका सदस्य सीता चौधरी बताउँछिन् ।

अहिले समूहले दुईओटा टहरा निर्माण गरी च्याउका पोका राखेको छ । समूहमा सबै थारु समुदायका महिला छन् । च्याउबाट आएको आम्दानीबाट समूहको खर्चका साथै सदस्यको दैनिक खर्चसमेत चल्ने गरेको उनीहरू बताउँछन् ।

समूहले सदस्यबीच वार्षिक २ प्रतिशत ब्याजमा ऋण लगानीसमेत गर्ने गरेको अध्यक्ष चौधरीले जानकारी दिइन् । सो ऋणबाट समूहमा आबद्ध महिलालाई अन्य गर्नसमेत सजिलो भएको छ ।