anchal-hospital

दिपक बोहरा, तुलसीपुर २६ पुस ।  राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ब्लड बैंक  सञ्चालनका लागि भवन निर्माण भएको एक बर्ष बित्न थाल्यो ।   तर  त्यो अझै सञ्चालनमा आउन सकेको छैन् ।  यसैको वाहानामा अस्पतालले पटक पटक ब्लड बैंक सञ्चालनमा आउने म्याद थप्दै आएको छ ।

अस्पतालले बैंक सञ्चालनका लागि तोकेको म्याद आँफैमा मजाक जस्तो सावित भएको छ । रेडक्रस र अस्पताल संचालक समितिका बीचमा को ठूलो भन्ने विवादका कारण ब्लड बैंक स्थापनाको विषय मजाक जस्तै सावित भएको छ । एक जना व्यक्तिले झन्डै ६० हजारको हाराहारीमा खर्च गरेर अस्पताल परिषरमा ब्लड बैंकको भवन निर्माण गरेको भएपनि ति दानविर व्यक्तिको समेत अपमान जस्तै बनेको छ ।

न अञ्चल स्पतालले आँफै त्यो व्लड बैंक स्थापना गर्न सकेको छ न सहयोगका लागि रेडक्रसलाई गुहार्न सकेको छ । सबैको उदेश्य निवास्र्थ सेवा भएपनि किन हो यि दुई संस्थाको विचमा सहकार्य वा सहमति हुन सकेको छैन । त्यसभित्रको रहस्य भने अलि जटिल प्रकृतिको छ । रेडक्रसले पनि आफ्नो स्वामित्व खोज्नु र अस्पताल प्रशासनले पनि आफ्नो अस्तितव दाउमा लगाएर रेडक्रसको अस्तित्व स्वीकारगर्न नसक्नुलाई नै समस्याको मुल जड मानिएको छ ।

अस्पताले ब्ल्ड बैंक सञ्चालनका लागि म्याद थप्न लागेको एक बर्ष बित्नै थाल्यो तर अझै पनि ब्लड बैंक सञ्चालनमा आउने कुनै संकेत देखिएको छैन् । यस सम्वन्धमा यहि कात्तिक महिनामा   जनस्वास्थ्य सेवा बिभाग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमण गरेको थियो ।

अनुगमण पश्चात एक हप्ता मै ब्लड बैंक सञ्चालनमा आउने तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट भोलाराम श्रेष्ठले राप्ती समाचारलाई प्रतिक्रिया दिएका थिए ।   एक हप्तामा सञ्चालन हुन्छ भन्न थालेको दुई महिना बितिसक्यो तर अस्पतालको त्यो बोली अझै फेरिएको छैन । अझै पनि अस्पतालले  एक हप्ता मै सञ्चालनमा आउने बताईरहेको छ । सोमबार अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट पदमराज अधिकारीको भनाई पनि त्यही थियो ‘ अब एक÷दुई  हप्तामै सञ्चालनमा आउछ ।’

तर उनको बोलिमा ढुक्कता थिएन् ।  उनको राप्ती समाचारलाई भने ‘ बिभागले अबको एक÷दुई हप्तामा बिभागले स्विकृति दिन्छ, तर कर्मचारी पठाउन केही समय लाग्न सक्छ ।’ कर्मचारी र बिभागको स्वीकृति आउन बित्तिकै ब्लड बैंक सञ्चालनमा आाउने अनको तर्क थियो ।

 बिभागले कात्तिकमा गरेको अनुगमणका क्रममा कर्मचारीको ब्यबस्था तथा भौतिक पुर्बाधार निर्माणले पुर्णता दिएपछि स्वीकृति दिने प्रतिक्रिया दिएको थियो । निमित्त मेसु अधिकारीका अनुसार ब्लड बैंक सञ्चालनका लागि आबश्यक पुर्बाधार पुरा भएको छ तर सरकारले अझै पनि कर्मचारी पठाएको छैन् ।

माग गरेको लामो समय बितेपनि कर्मचारी नपठाएको निमित्त मेसु अधिकारीले बताए ।  उनले भने ‘ हामीले यहाँबाट माग गरेका छौं सरकारले पठाएको छैन ।’  उनले थपे ‘ अबको एक हप्तामै बिभागले  ब्लड बैंक सञ्चालन गर्ने अनुमति दिन्छ, त्यो ठुलो कुरा छैन्, समयमै कर्मचारी नहुँदा समस्या हुन सक्छ ।’

मेसु अधिकारीका अनुसार ल्याबमा कार्यरत पाँच जना कर्मचारी आबश्यक छ ।  त्यसका लागि आफुले चाल्नुपर्ने सबै कदम चालिसकेको निमित्त मेसु अधिकारीले बताए । अञ्चल अस्पतालमा आधुनिक ब्लड बैंक सञ्चालनमा ल्याउनका लागि समाजसेवी बामदेब शर्माले आफ्नी श्रीमती कालिका देवीको स्मृतिमा भवन निर्र्माण गरिदिएका हुन् ।

५५ लाख बढि लगानीमा २०७२ फागुन १४ गते भवन निर्माण कार्य सकिएको थियो । अस्पताल परिषरमा निर्माण भएको ब्लड बैंकको सभामुख ओनसरी घर्तीले उदघाटन गरेकी थिईन् ।

 समाजसेवीले अस्पताललाई भवन निर्माण गरिदिए पनि अस्पताललाई भवन निर्माण ठुलो सहयोग पुगेको भन्दै त्यसमा छिटै ब्लड बैंक सञ्चालनमा ल्यायाउन अनुरोध पनि गरेकी थिईन् । सातवटा कोठा रहेको उक्त केन्द्रको कालिकादेवी रक्त सञ्चार केन्द्र नामाकरण गरिएको छ ।

ब्लड बैंक संचालनमा नआउदा  पटक पटक अञ्चल अस्पतालले रगतको अभाब खेप्नु परेको छ ।  रगत अभाबकै कारण बिरामीलाई बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको अञ्चल अस्पताल स्रोतले बताएको छ ।  तुलसीपुरमा ब्लड बैंक सञ्चालनमा आएपछि सो समस्याबाट मुक्त हुने भन्दै यहाँका नागरिकको आशा छ ।

अञ्चल अस्पतालमा निःशुल्क मृगौला परिक्षण
आज तुलसीपुरका पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण गरिने भएको छ । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा अञ्चल अस्पताल राप्तीमा निःशुल्क मृगौला परिक्षण गरिने भएको हो । मृगौला परिक्षणका लागि सम्पुर्ण पत्रकारहरुलाई दिउसो १ बजे अञ्चल अस्पतामा उपस्थितिका लागि सबै पत्रकारलाई आग्रह गरेको छ ।

पत्रकारहरुको स्वास्थ्यप्रति संवेदनशील भई मृगौला परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालय, अञ्चल अस्पताल तुलसीपुर तथा प्राथमिक स्वास्थ्य केन्द्र लमही प्राविधिक तथा व्यवस्थापकीय सहयोग गरेको छ । महासंघले सोमबार राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण गरेको थियो भने  भोली बुधबार प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा निःशुल्क मृगौला परिक्षण गर्ने अध्यक्ष सुदिप गौतमले प्रेस बिज्ञप्ति जारी गरि जानकारी दिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले दाङका सबै गाबिसका स्वास्थ्य चौकीहरुमा मृगौला परिक्षणका लागि किट बितरण गरेको जनाएको छ । जनस्वास्थ्य प्रमुख घनश्याम पोख्रेलले सबै नागरिकले  नजिकको स्वास्थ्य चौकीमा गई निःशुल्क मृगौला परिक्षण गर्न पनि अनुरोध गरेका छन् ।