दिपक बोहरा , तुलसीपुर २० पुस । राप्ती अञ्चल अस्पताल तुलसीपुर अभिभाबक विहीन अस्पताल जस्तै बनेको छ । हाल यो अस्पतालमा न बिकास समितिका अध्यक्ष छन् न मेडिकल सुपरिटेन्डेन्ट नै छन् । त्यसैले अस्पताल अहिले अभिभावक विहीन जस्तै बन्न पुगेकोछ ।
अस्पताल बिकास समितिका अध्यक्ष रुद्रमणी शर्मा आचार्यको पाँच महिना अघि गत भदौ महिनाबाट कार्यकाल सकिएको थियो । उनको कार्यकाल सकिएको पाँच महिना पुगिसक्दा समेत अस्पताल बिकास समितिको नयाँ अध्यक्ष चयन भएको छैन । र त्यसको लागि पहल समेत कुनै निकायवाट थालिएको छैन् ।
अभिभावक विहीन जस्तै बनेको अस्पतालमा त्यही भएर कुनै पनि बिकासका काम अघि बढ्न सकेका छैनन् । अस्पतालका शाखा अधिकृत महेन्द्र राज शर्माले त्यो कुरा स्वीकार गरेका छन् । अध्यक्ष नहुँदा अञ्चल अस्पतालमा चालु आर्थिक बर्षमा निर्माण हुने भनिएका थप दुई वटा आबसिय भवन निर्माणको काम समेत प्रभावित बनेको छ ।
भवन निर्माणको काम हालसम्म अलपत्र अवस्थामा रहेको तथा काम शुरु हुन नसकेको अधिकृत शर्माले बताए । चालु आर्थिक बर्षको पहिलो चौमासिक सकिदा समेत अहिले सम्म अस्पतालको भौतिक बिकासको कुनैपनि काम शुरु आत हुन नसकेको उनले बताए । त्यस्तै अस्पतालमा निर्माण हुने भनिएको पर्खाल निर्माणको काम समेत शुरु हुन नसकेको शर्माले जानकारी दिए ।
अस्पालको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका संरचना हटाएर अस्पतालको भवन निर्माण गर्ने काम पनि अध्यक्ष नहुदा अगाडि बढ्न नसकेको शर्माले स्वीकार गरेका छन् । ‘अस्पतालको स्वामित्वमा रहेको जग्गामा निर्माण भएका संरचना हटाउन भन्दै दुई पटकसम्म हामीले सूचना जारी गरि सक्यौ, तर, अझै हटाएका छैनन्’ उनले थपे ‘अदालतले पनि संरचना हटाउन निर्देशन दिईसकेको छ,तर अध्यक्ष नहँदा प्रक्रिया अगाडि बढाउन सकिएको छैन्।’
अहिले अञ्चल अस्पताल सञ्चालक समितिका सदस्यको भरमा सञ्चालन हुँदै आएकोले त्यो निर्णय गर्ने अधिकार उनमा नहुँदा समस्या भएको छ । अस्पताल बिकास समितिका सदस्य नबराज लामिछानेले अस्पताल बिकासको जिम्मा सम्हालिरहेका छन् । त्यसैले अध्यक्ष नहुंदा महत्वपूर्ण निर्णय गर्न र अस्पतालमा आइपर्ने समस्या समाधानमा थप कठिनाई भएको अधिकृत शर्माले बताए ।
स्वास्थ्य मन्त्रालयले अञ्चल अस्पताल बिकास समितिको अध्यक्ष बन्नका लागि स्नातकोत्तर उत्तिर्ण हुनुपर्ने तथा अस्पताल सुधारका निश्चित योजना र प्रतिवद्धता सहित कार्यसम्पादन करार सम्झौता गर्नुपर्ने प्राबधान तोकेको छ । नियुक्त वा मनोनयन भएको मितिले ३० दिन भित्रमा सम्झौता गरिसक्नु पर्ने स्वाथ्य मन्त्रालयले नयाँ व्यवस्था गरेको छ ।
त्यस्तै बिगत दुई महिनादेखि अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको पद पनि रिक्त रहेको छ । तत्कालिन मेसु डा. भोलाराम श्रेष्ठको सरुवा भएदेखि अञ्चल अस्पतालले नयाँ मेसु पाउन सकेको छैन । अहिले डा. पदमराज अधिकारीले निमित्त मेसुको भुमिकामा छन् ।
तत्कालिन मेसु श्रेष्ठ स्वास्थ्य मन्त्रालय अन्तरगत चिकित्सा सेवा महासाखा प्रमुखको रुपमा सरुवा भएर गएको दुई महिना बिति सक्दा पनि सरकारले नयाँ मेसु पठाएको छैन् । जस्ले गर्दा अस्पतालको सेवा प्रबाहमा समस्या हुँदै आएको छ ।
कुनै पनि कर्मचारी भर्न नगर्न निर्देशन
यसैविच स्वास्थ्य मन्त्रालयले विकास समितिका अध्यक्ष लगायतका पदाधिकारीहरुको पद रिक्त रहेका सबै सरकारी अस्पतालमा कुनैपनि कर्मचारी भर्ना नगर्न निर्देशन दिएको छ । मन्त्रालयले मातहतका सबै केन्द्रिय, अञ्चल, क्षेत्रीय र उपक्षेत्रीय तथा जिल्ला अस्पतालहरुमा स्थायी, अस्थायी र करार दरबन्दीमा भर्ना प्रक्रिया रोक्न पत्राचार गरिसकेको छ।
विकास समितिहरुमा अध्यक्ष लगायतका पदाधिकारीहरुको पद रिक्त रहेको भए त्यस्ता अस्पतालले विकास समितिको अध्यक्षको पद पूर्ती नहुँदासम्म कुनै पनि किसिमको भर्ना नगर्नु निर्देशन गरिएको छ । भर्ना प्रक्रिया सुरु भइसकेको भएपनि यथास्थितिमा राखेर भर्ना प्रक्रिया रोक्न राज्यमन्त्री स्तरको निर्णयअनुसार निर्देशन गरिएको छ । मन्त्रालयले फार्मेसी सम्बन्धी प्राविधिक पदमा भने भर्ना गर्न सकिने उल्लेख गरेको छ । राप्ती समाचार
