डोल्पा- श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा काइगाउँ गाविस–९ का गणेश विक पक्राउ परेका छन् । उनले पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमती २४ वर्षकी विसाकुमारी विकसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको र नमानेपछि श्रीमतीलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

balatkar2बिहे गरेको तीन वर्षभित्र थुप्रै पटक कुटपिट गरे भन्ने श्रीमतीको उजुरीमा गाउँका भद्रभलाद्मी बसेर पटक पटक दुवैजनालाई मिलाउँदै आएका थिए ।  यसपटक भने असह्य भएरै न्याय खोज्न आफू सदरमुकामसम्म आइपुगेको श्रीमती विकले बताएकी छन् । उनी आफ्नो घरदेखि ६ दिनको पैदल हिँडेर दुई वर्षीय छोरासहित सदरमुकाम दुनै पुगेकी हुन् ।

यो पटकको कुटाइबाट उनको शरीरभरि गहिरो चोट लागेको र विशेषतः टाउको र आँखामा गम्भीर चोट लागेको महिला तथा बालबालिकाको कार्यालय, डोल्पाले जनाएको छ । अभियुक्त विकलाई घरेलु हिंसाअन्तर्गत यौनजन्य हिंसामा मुद्दा चलाइएको प्रहरी नायब निरीक्षक तुलसीराम अर्यालले जानकारी दिए । रासस