जानकी दहित
दाङ, १७ पुस । वलबहादुर वली (सितल) लाई सर्वसम्मत सेक्रेटरीमा निर्वाचित गर्दै ५५ सदस्यीय नयाँकार्य समिति चयन गर्दै आज नेकपा (माओवादी) दाङ्गको आठौं जिल्ला सम्मेलन सकिएको छ ।
शनिवारदेखि शुरु भएको सम्मेलनले २९ सदस्यीय विशेष समिति र १४ सदस्यीय जिल्ला सल्लाहकार समिति चयन गरेको छ ।सम्मेलनले ५ बुँदे घोषणापत्र जारी समेत गरेको छ । २ दिनसम्म चलेको सम्मेलनको निर्णय सार्वजनिक गर्न आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (मााओवादी) स्थायी कमिटी सदस्य सुदर्शनले पार्टी केन्द्रको स्पिरिट अनुसार सानो कमिटी निर्माणसँगै पार्टीको एकिकृत जनक्रान्तिको कार्यदिशालाई आगामी महाधिवेशनले थप परिमार्जन गर्ने बताए ।
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद नै हो भन्ने ठोकुवा गर्दै उहाँले आफूहरुले कार्यदिशाको थप विकास गर्न लागी परेको बताए ।
कार्यक्रममा नवनिर्वाचित पार्टीका जिल्ला सेक्रेटरी सितलले सबै क्षेत्रमा देखिएको बेथितिविरुद्ध कडा संघर्ष गर्ने बताए । संसदवादी दलहरुले राष्ट्रियता विरोधी गतिविधि संचालन गरिरहेको भन्दै राष्ट्रियताको पक्षमा सक्रिय रुपमा संघर्ष गर्ने आम नेता कार्यकर्तालाई आह्वान गरे ।
