पोखरा– उर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकरले आफूले ऊर्जा मन्त्रालयमार्फत गरेको जनमुखी कामको पार्टीले स्वामित्व लिन नसकेको गुनासो गरेका छन् ।
माओवादी केन्द्र कास्कीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोडसेडिङमुक्त नेपाल बनाएर कमाएको जनमतको स्वामित्व पार्टी पंक्तिले नसकेको बताए ।
“लोडसेडिङमुक्त नेपाल बनाएपछि बिजुलीको मुखै नदेखेका दुरदराजका जनता समेत खुशी भएका छन तर जनार्दनले ‘क्रेडिट’ पाउँछ भन्ने आतंकले पार्टीकै कतिपय नेतालाई सताएको छ, अनि कसरी बन्छ पार्टी ? ” उनले भने “यो सवै काम मैले प्रधानमन्त्री प्रचण्डको निर्देशनमा गरेको हुँ, यो काम सरकारले गरेको हो, मलाई क्रेडिट चाहिँदैन तर ऊर्जा मन्त्रालयले गरेको उपलब्धिलाई पार्टी निर्माणमा प्रयोग गर्नुस् , मलाई यत्ति भए पुग्छ ।”
उर्जा मन्त्रालयको कामले देशव्यापी रुपमा पाएको वाहवाहीलाई पार्टीका नेताहरुले समेत कतै उच्चारण नगरेको गुनासो गर्दै मन्त्री शर्माले सरकारले गरेका राम्रा कामको स्वामित्व लिन नसके पार्टी बन्न नसक्ने ठोकुवा गरे ।
अर्को एक प्रसंगमा मन्त्री शर्माले चार हजार केन्द्रीय सदस्य बनाएर पार्टी बन्न नसक्ने धारणा व्यक्त गरे । पार्टी एकीकरण हुँदा बैचारिक कार्यदिशा ठोस गरिएपनि संगठनात्मक अन्योल हटाउन नसकेको कारण संगठन भद्रगोल भएको टिप्पणी गरे । रातोपाटीबाट
