गोरखा, ८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताएका छन् । आज गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

dsc5428-848x478
आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको छ । काठमाडौंमा लोडसेडिङ अन्त्य गरिएको छ । देशैभरी लोडसेडिङ कसरी अन्त्य गर्न सकिन्छ भनेर हामीले गृहकार्य गरिरहेका छौं । हामी छिट्टै देशब्यापी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेका छौं । विश्वास छ, यसमा सरकार सफल हुन्छ ।’

‘व्यवस्थापनमा सुधार गर्दा, चुहावट रोक्दा, इमान्दार भएर काम गर्दा अद्भूत परिणाम आउँदो रहेछ । ठीक मान्छेलाई ठीक जिम्मा दिँदा र लक्ष्यप्रति निष्ठावान् हुँदा चार महिनामै उपत्यकामा लोडसेडिङ अन्त्य गर्न सकियो । नेतृत्वको ईच्छाशक्ति भयो, राम्रो व्यवस्थापन भयो र युद्धस्तरमा काम गरियो भने परिणाम उत्साहवद्र्धक आउँछ ।’

प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणमा म आफैं दौडिएको छु । मेरो निरीक्षणपछि कामहरु रफ्तारमा अघि बढेका छन् । सरकारले समयभन्दा अघि नै गुणस्तरीय काम गर्ने कर्मचारी र आयोजनाहरुलाई पुरस्कृत गर्नेछ । हामी सबैले निष्ठावान् भएर काम गरौं, परिणाम राम्रो आउँछ । राष्ट्र निर्माणमा हामी सबै जिम्मेवार भएर लाग्नुपर्छ ।’