रुकुम, ८ पुस । रुकुमेली ऊर्जा विकास समिति रुकुमले मनपरी शुल्क उठाउने गरेको पाइएको छ । विद्युत् प्राधिकरणको मातहतमा जान लागेको समितिले ग्राहकलाई रसिद नै नदिएर रकम असुल्ने गरेको गुनासो बढेको हो ।
मुसीकोट नगरपालिका–१ का गोपाल शर्माले कर्मचारीले विनारसिद ५ सय रुपैयाँ माग्ने गरेको गुनासो गरे । मिटर किन्न विद्युत् कार्यालय पुगेका सबैजसो ग्राहकबाट पैसा माग्न थालेपछि स्थानीयवासी मारमा परेको शर्माले जानकारी दिए । मिटर किन्न कार्यालय पुगेका ग्राहकलाई ३ हजार रुपैयाँको बिल दिएर ३ हजार ५ सय रुपैयाँ असुल्ने गरिएको छ । त्यो पैसा केका लागि हो भन्ने समेत खुलाइएको छैन ।
समितिका कार्यालय प्रमुख रामबहादुर केसीले ग्राहकबाट लिएको ५ सय रुपैयाँ सेवा शुल्क भएको बताए । मिटर जडानका लागि प्राविधिक खर्चबापतको पैसा उठाएको केसीको भनाइ छ । ‘रसिद काट्दा राजस्व तिर्नुपर्दछ, त्यसैले विनारसिद रकम उठाइएको हो,’ प्रमुख केसीले जानकारी दिए ।
समितिले १ हजार मिटर विक्रीमा ५ सय रुपैयाँ उठाउँदा रू। ५ लाख जम्मा हुने देखिन्छ । उता, कार्यालयमा पैसा उठाउँदा प्राविधिकहरू मारमा पर्ने स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ‘त्यो पैसा जो प्राविधिक जान्छ, त्यसैले उठाउनु पर्दथ्यो, तर कार्यालयमै उठाएर कर्मचारी ठग्ने काम भएको छ ।’
त्यस्तै, समितिले मिटर खरीद मूल्यभन्दा करीब दोब्बरमा विक्री गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणबाट रू। १ हजार ८ सय २५ मा खरिद गरेर ३ हजार रुपैयाँमा विक्रीवितरण गरेको हो । मिटर विक्रीबाट रू। ११ लाख ७५ हजार उठ्ने गरेको छ । तर, त्यो पैसा केका लागि खर्च हुन्छ भन्नेबारे जानकारी दिइएको छैन ।
